PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : निर्माण नसकी हतारमै साँचो हस्तान्तरण, सञ्चालनमा चुनौती नै चुनौती



रिना थापा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : निर्माण नसकी हतारमै साँचो हस्तान्तरण, सञ्चालनमा चुनौती नै चुनौती

पोखरा : चीन सरकारले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो। काठमाडौंमा चिनियाँ विदेशमन्त्रीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई साँचो थमाएर विमानस्थल हस्तान्तरण गरे। यता पोखरामा तय भएको विमानस्थलको कार्यक्रमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पोखरा आइपुगे। विमानस्थलको निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्न मन्त्री आले पोखरा आइपुगेका थिए। भर्चुअलमार्फत काठमाडौंमा सरकारलाई साँचो हस्तान्तरण भएपछि पोखरामा कार्यक्रम सुरुआत भयो। पोखरामा तामझामका साथ कार्यक्रम भयो। तर, जति तामझामका साथ पोखरा विमानस्थलमा शनिवार कार्यक्रम भयो विमानस्थलको सञ्चालन विषय भने अझै सुनिश्चित छैन।

चीनको सहुलियत क्रण र चीन सरकारको स्वामित्वमा रहेको निर्माण कम्पनी सिएमसीईले ०१७  नोभेम्बरमा विमानस्थल निर्माण कार्य सुरु गरेको थियो। सम्झौताअनुसार ०२१ जुलाईमा सम्पन्न हुनुपर्ने भएपनि कोरोना र विमानस्थल निर्माणमा आएका बाधाले पछि धकेलियो। विमानस्थलको निर्माणकार्य आयोजनाका प्रमुख विनेश मुनकर्मीका अनुसार ९३ प्रतिशत सम्पन्न भएको छ। निर्माणकार्य अन्तिम चरणमा लागे पनि यहाँ देखिएको समस्याले विमानस्थल सञ्चालनबारे टुंगो लाग्न सकेको छैन। बर्खाका पानी, रिठेपानी डाँडा कटान र ल्यान्ड फिल साइट प्रमुख समस्या हो। डाँडा कटान र बर्खाका पानी कटाउन नहरको समस्या समाधान अघि बढेको छ। तर, ल्यान्ड फिल साइटको समस्या भने अझै समाधान हुन सकेको छैन। पूर्णरुपमा निर्माण कार्य नबन्दै र समस्या समाधान नहुँदै यसैबिच चिनियाँ कम्पनीले शनिबार विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ।

विमानस्थल नेपाललाई हस्तान्तरण भएपनि उड्डयन प्राधिकरण सन्तुष्ट देखिदैन। कारण, पोखरा विमानस्थल संचालनमा बाधक बनेको समस्या। शनिवार पोखरामा भएको कार्यक्रममा बोल्दै उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले विमानस्थल संचालनबारे शंका व्यक्त गरे।

‘हामीले काम गर्‍यौ। तर हामीले गर्न नसकेका काम पनि छन्। त्यो हो पोखरा ल्यान्ड फिल्ड साइट विमानस्थल निर्माण हुन पूर्व शर्त हो यो,’ उनले भने, ‘यहीँबाट प्रतिनिधि सबैलाई भन्छु ल्यान्ड फिल्ड साइटको समस्या समाधान नभए संचालन हुने विषय अनिश्चित छ।’

अहिले विमानस्थल हस्तान्तरण भइसक्दा पनि विमानस्थलको समस्या यथावत छ। राष्ट्रको गौरव आयोजना मानिएको विमानस्थल संचालनमा आउने समस्या समाधान गर्न मन्त्रीदेखि प्रधानमन्त्रीले आश्वासन मात्र दिए। विमानस्थलको निर्माण समयमा प्रधानमन्त्रीदेखि मन्त्री र सांसदले अवलोकन गरे। प्रत्येक पटकको अवलोकनमा विमानस्थलमा रहेको समस्याको बिफ्रिङ भयो। अवलोकनमा जाँदा समस्या समाधान गर्ने आश्वासन पनि दिए। तर, समस्या अहिले पनि उस्तै।

विमानस्थल अवलोकनमा मन्त्री आले पनि मंसिर १७ गते पोखरा आएका थिए। उक्त दिनको अवलोकनमा मन्त्री आलेले विमानस्थल निर्माणमा आएका सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिएका थिए। डाँडा कटानमा आएको समस्या र अन्य समस्या तत्काल समाधान गर्न मन्त्री आलेले निर्देशन नै दिएका थिए। शनिवार उनै मन्त्री आलेले आफूले दिएको प्रतिवद्धता बिर्सेर विमानस्थल निर्माणको कार्य सम्पन्न भएको भाषण गरे।

‘आजको सेरोमनिले के सन्देश दिएको छ भने पोखराको एयरपोर्ट कम्प्लीट भइसक्यो अब हामीले काम सम्पन्न हुन्छ कि हुँदैन भनेर चिन्ता गर्नुपर्ने छैन द वर्क इज अलरेडि फिनिस,’ कार्यक्रममा आलेले भने।

विमानस्थलको समस्याबारे अवज्ञत रहेको मन्त्री आलेले कार्यक्रम भर विमानस्थलले पोखराको पर्यटनमा टेवा पुर्‍याउने बताइरहे। तर, विमानस्थलको समस्याबारे बोल्दै बोलेनन्। उनले उल्टै पर्यटन व्यवसायीलाई पूर्वाधार विकास गर्न जोड दिए।

‘विमानस्थल सम्पन्न भयो भन्ने सन्देश गइसकेको छ। यहाँका उद्योगी साथीहरुले तीन तारे होइन सात तारे होटल बनाउनु भोलि पर्यटक आउँदा हामीसँग होटल नभए के हुन्छ,’ उनले भने,‘त्यसैले पूर्वाधार कम्प्लीट गर्नका लागि अनुरोध गर्छु तपाईँहरुलाई के चाहिन्छ हाम्रो मन्त्रालयले गर्छ पोखरालाई पर्यटकीय राजधानी बनाउनुपर्छ।’

यस्तै उनले पोखराको उडानका लागि भारतसँग रुटका लागि प्रस्ताव गरेको बताए। उनले भारतले रुट दिने दाबीसमेत गरे। ‘भारत जाँदा उड्डयन मन्त्री सिंधियासँग प्रस्ताव गरेको थिएँ हैदरावादमा भेट हुँदापनि छलफल गरेको छ हामीले उडानका लागि हवाइ रुट छिट्टै पाउने छौँ,’ मन्त्री आलेको दाबी थियो।

विमानस्थल संचालनमा तीन चुनौति

विमानस्थलका आयोजना प्रमुख मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ। विमानस्थलमा अझै फिनिसङको काम बाँकी नै छ। यसबाहेक विमानस्थल संचालनमा आउन समस्या  रिठेपानी डाँडा कटान, बर्खाको पानी र ल्यान्ड फिल्ड साइट हो।

विमानस्थल नजिकै दूई किलोमिटरमा पोखरा महानगरपालिको फोहोर व्यवस्थापन गर्ने ल्यान्ड फिल्ड साइट छ। विमानस्थल संचालन र सुरक्षित उडानका लागि विमानस्थलको दश किलोमिटर क्षेत्रमा ल्यान्ड फिल्ड साइट हुनुहुँदैन।

आहारका लागि आउने चराचुरुङीले हवाई उडानमा जोखिम पार्ने सम्भावना उच्च छ। त्यसका लागि ल्यान्ड फिल्ड साइट स्थानान्तरण गर्नुपर्ने हुन्छ। यसका लागि विमानस्थलले बारम्बार पोखरा महानगरपालिकालाई पत्रचार गरिरहेको छ। तीन वर्षदेखि महानगरले ल्यान्ड फिल्ड साइट स्थानान्तरण गर्न सकेको छैन। महानगरले केही समय पहिला पस्मराङमा ल्यान्ड फिल्ड साइट सार्ने भनेको थियो। तर, स्थानियको विरोधपछि सो निर्णय पनि रोकिएको छ।

‘ल्यान्ड फिल्ड साइटको समस्या महानगरपालिकाबाट व्यवस्थापन हुनुपर्छ। यो हाम्रो वशमा रहेन। उहाँहरुले हेरेपनि ठोस रुपमा अघि बढेको छैन वैशाखसम्ममा ट्रान्सपोर्ट गर्न भनेका छौं,’ मुनकर्मीले भने।

विमानस्थलमा बर्खामा आउने पानीको भेलले पनि समस्या निम्ताउने देखिन्छ। ढल व्यवस्थापनको काम अघि बढेकै छैन। प्रदेश सरकारसँग विमानस्थलमा जाने ढलको पानी व्यवस्थापन गर्न बजेट नभएकै कारण काम अघि बढ्न सकेको छैन। सिँचाई डिभिजन कार्यालय पोखराले ढल डाइभर्सनका लागि अनुमानित ४० करोड खर्च लाग्ने प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको थियो। प्रदेश सरकारले संघ सरकारकै मुख ताकेर बसिरहेको छ। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री देउवा पोखरा आउँदा ढलको समस्या र बजेटबारे कुरा राखेका थिए। यसबाहेक पनि विमानस्थलले आफनै ढल व्यवस्थापनको योजना अघि बढाएको छ।

‘हामी उहाँहरु कहिले काम गर्ला भनेर कुरेका छैनौँ हामीले यहाँभित्र ड्रेनेजको काम पनि अघि बढाएको छौं। यो काम हामी बर्खा अगाडि नै सक्छौं,’ उनले भने।

यस्तै विमानस्थल संचालनमा बाधक बनेको छ रिठेपानी डाँडा। विमानस्थल संचालनका लागि ४० मिटर डाँडा काट्नुपर्ने छ। यसको काम अझै अघि बढ्न सकेको छैन। मुनकर्मीका अनुसार आगामी हप्ता डाँडा कटानका लागि स्वीकृती मिल्ने सम्भावना छ। 

मुनकर्मीका अनुसार विमानस्थलको सम्पूर्ण काम असारसम्ममा सक्ने देखिन्छ। ‘मेजर कामहरु सम्पन्न भइसकेको छ। केही मानइर वर्कहरु हाम्रो बाँकी छ। ब्युटिफिकेसन देखि फिनिसिङको काम बाँकी छ। वैशाखसम्म सम्पन्न हुन्छ। यस्तै विमानस्थलको सम्पूर्ण काम असारसम्म सक्छौं,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell