
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ग्ल्याण्डले स्वीजरल्याण्डमाथि पुनरागमन जित निकालेको छ। वेम्बली स्टेडियममा गएराति सम्पन्न खेलमा घरेलु टोली इङग्ल्याण्डले स्वीजरल्याण्डमाथि २-१ गोलअन्तरले जित निकालेको हो।
खेलको २२ औं मिनेटमा ब्रील एम्बोलोले गोल गर्दै स्वीजरल्याण्डलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्ज्युरी समयमा लुक शा ले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ह्यारी केनले गोल गर्दा इङ्ग्ल्याण्डले २-१ ले खेल आफ्नो पक्षमा पार्यो।
त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा नेदरल्याण्ड्सले डेनमार्कमाथि जित निकाल्यो। एम्स्टरड्याम स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले डेनमार्कमाथि ४-२ गोल अन्तरले जित निकालेको हो। युरोकपका क्रममा हृदयघात भएर ढलेका क्रिस्टियन एरिक्सनले पनि डेनमार्कका लागि गोल गर्दै अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट पुनरागमन गरे।
नेदरल्याण्ड्सको जितमा स्टेभेन बर्जविनले १६ र ७१ औं मिनेटमा गोल गरे भने नाथन एकेले २९ औं मिनेटमा र मेम्फिस डिपेले ३७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। त्यस्तै डेनमार्कको तर्फबाट २० औं मिनेटमा जन्निक भेस्टरगार्डले गोल गरे भने एरिक्सनले ४७ औं मिनेटमा गोल गरे।
गएराति नै सम्पन्न अन्य खेलहरुमा बेल्जियम र आयरल्याण्ड २-२ को बराबरीमा रोकिँदा स्पेनले अल्बानियामाथि २-१, जर्मनीले इजरायलमाथि २-० गोलअन्तरले जित निकाले।