PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

नेताहरु धर्मको बिर्कोभन्दा रक्सीको बिर्को खोल्न मस्त छन् : निखिल उप्रेती



राधेश्याम पटेल

नेताहरु धर्मको बिर्कोभन्दा रक्सीको बिर्को खोल्न मस्त छन् : निखिल उप्रेती

वीरगंज : नायक निखिल उप्रेतीले हिन्दू धर्मको मूल्य, मान्यता तथा सुत्रलाई खत्तम पार्ने खेलमा नेताहरु लागेको आरोप लगाएका छन्। शनिवार वीरगंजमा सम्पन्न प्रबुद्ध नागरिक गोष्ठि एवं साहित्य परिचय कार्यक्रममा उप्रेतीले यस्तो आरोप लगाएका हुन्।

हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा वीरगंजको जैन धर्मशालामा आयोजित कार्यक्रममा उनले भने, ‘आजको हिन्दुवादी कुरा गर्ने वित्तिकै सबैले भन्ने गरेका छन्, वैज्ञानिक युगमा रुढीवादी कुरा गर्ने, तर ती व्यक्तिहरुलाई थाहा छैन, सनातन धर्मको वैज्ञानिक पद्दति र सुत्र।’ विदेशी शक्तिको दबावमा नेपाललाई हिन्दु राज्यबाट धर्म निरपेक्ष राज्य घोषणा गरिएकोप्रति कटाक्ष गर्दै उनले नेपाली जनताकै कारण यस्तो अवस्था आएको पनि स्पष्ट पारे।

‘धर्मलाई राजनीतिसँग जोड्न खोजेको होइन, तर बिना राजनीति धर्म सुरक्षित रहन सक्दैन, त्यसैले अब हामीले चुन्ने नेता सनातन धर्मको मूल्य, मान्यता र परम्परालाई रक्षा गर्न सक्छ की सक्दैन, त्यो पनि हेर्न जरुरी छ,’ उनले भने, ‘आजको समयमा नेताहरु धर्म र अध्यात्मको बिर्को खोल्नुभन्दा रक्सीको बिर्को खोल्नेमा मस्त रहेका छन्।’

रक्सीले कुनै समस्यालाई अस्थायी रुपमा मात्र बिर्साउन सक्ने तर धर्म र अध्यात्मले कुनै पनि समस्यालाई जरा देखि निर्मुल पार्ने गरेको दावी गरे। कार्यक्रमका राजनीतिक विश्लेषक दिवेश झाले नेपाल हिन्दू राज्य भएको वैश्विक पहिचानमाथि नेपालका राजनीतिकर्मीहरुले अघात पुर्‍याएको जिकिर गरे। कार्यक्रमका वीरगंजका उद्योगपति अशोक वैद्यले हिन्दूहरुको संख्या घटाउन पछिल्लो जनगणनामा समेत विभेद र त्रुटि भएको दावी गरे। ‘म वीरगंज महानगरको परिचित व्यक्ति हुँ, तर मेरो घरमा जनगणना गर्न कोही आएन,’ उनले भने, ‘नेपालको पछिल्लो जनगणना अनुसार जनसंख्या कम देखिएको छ, त्यसमा पनि विदेशी शक्तिको इशारामा जनगणना भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell