PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

भारतले बनाउन आलटाल गरेको मन्दिरको कथा : साहुहरुको सहयोगमा ठडियो, ब्याङ्करहरुले ठाउँकाठाउँ दिए करोड करोड...



सहयोग रञ्जित

भारतले बनाउन आलटाल गरेको मन्दिरको कथा : साहुहरुको सहयोगमा ठडियो, ब्याङ्करहरुले ठाउँकाठाउँ दिए करोड करोड...
तस्विर : रासस

शनिवार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा पाटन दरबार क्षेत्र पुगे। अवसर थियो – भीमसेन मन्दिरको उद्घाटन। करिब तीन वर्ष लगाएर निर्माण सम्पन्न भएको मन्दिर देखेर शनिवार प्रधानमन्त्री देउवा निकै खुशी भए। उनले महानगरको तारिफ त गरे नै, सम्पदा निर्माणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने कुरा ललितपुरले पुष्टि गरेको समेत बताए।

प्रधानमन्त्रीलाई उद्धत गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, 'मन्दिर उद्घाटनका लागि हामीले प्रधानमन्त्रीलाई बोलायौं। उहाँ मन्दिर देखेर निकै खुशी हुनुभयो। मन्दिर देख्दा निकै राम्रो बनेको भन्नु भयो।'

२०७२ सालमा गएको भूकम्पका कारण जीर्ण रहेको उक्त मन्दिर ललितपुर महानगरपालिका, पाटनकै साहुहरु र स्थानीयको सहयोगमा निर्माण भएको हो। त्यसैले पनि चिरिबाबुले प्रधानमन्त्रीलाई मन्दिर बनाउन महानगर र स्थानीय साहुले दिएको सहयोगबारे अवगत गराएका थिए। उनको कुराले देउवा निक्कै प्रभावित भए।

महर्जन पनि ३८६ वर्ष अघि बनेको भन्दा अहिलेको भीमसेन मन्दिर राम्रो र जब्बर बनेको दाबी गर्छन्।

तस्विर : रासस

‘मन्दिरको गुणस्तर निकै राम्रो छ। सिद्धिनरसिंह मल्‍लका छोरा श्रीनिवास मल्लले यो मन्दिर बनाएका थिए,' महर्जनले भने, 'अहिले हामीले श्रीनिवासले बनाएको भन्दा अझ राम्ररी बनाएका छौं। नेपालका लागि र सम्पदा क्षेत्रमा लाग्नेहरुका लागि यो नयाँ मोडालिटी हो।’

कसरी ठडियो मन्दिर?

नेवारी समुदायमा भिंद्य: (भीमसेन)लाई विशेष गरी व्यापारमा असल गर्ने देवताका रुपमा व्यापारीहरूले पुज्ने गर्छन्। व्यापारीहरुका लागि त भिंद्य: आराध्य देव हुन्। नेवार समुदायको उपस्थिति रहेको हरेक टोलमा भिंद्य: रहेका हुन्छन्।

भिंद्य: रहेको पाटनको ऐतिहासिक मन्दिरमा वि सं २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको थियो। भूकम्पमा मन्दिर भत्किन्थ्यो भने त्यहाँ धेरै जनधनको क्षति हुनसक्थ्यो। भूकम्पले साढे तीन/पौने चार इन्च उत्तर पूर्वतिर कोल्टे परेको थियो मन्दिर। तर, बाहिरबाट मन्दिर ठडिएको देखिए पनि भित्रबाट भने जिर्ण भइसकेको रहेछ। पाटनमा अन्य मन्दिर बने पनि भीमसेन मन्दिर पुनर्निर्माण नहुँदा जोखिम पनि बढ्दै थियो। त्यसैले स्थानीय मन्दिर बनाउन पर्छ भनेर अघि सरे।

नेपाल सरकारले मन्दिर पुनर्निर्माणको काम भारत सरकारलाई दिएको थियो। दुई देशबिच मन्दिर पुनर्निर्माण गर्ने सम्झौता समेत भइसकेको थियो। तर, जहाँ मन्दिर छ, त्यहाँका स्थानीयलाई उक्त सम्झौताबारे पछिमात्रै थाहा भयो।

समय बित्दै गयो। पाटनमा कृष्ण मन्दिर बन्यो। मणिमण्डप बन्यो। अरु मन्दिरका काम पनि सुरु भयो। तर, भीमसेन मन्दिर बनेन। मन्दिर पुनर्निर्माणको माग गर्दै दूतावासदेखि प्रधानमन्त्री कहाँ सम्म पुगे स्थानीयवासी। भारत सरकारले भने दिने भनेको आर्थिक सहयोग निकासा हुन समय लाग्ने बतायो।

मन्दिर नबन्दा स्थानीय आक्रोशित थिए। उनीहरुले भारत सरकारले नसके आफूहरुले नै मन्दिर बनाउने भनेर ललितपुर महानगरपालिकादेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसम्म धाइरहे। पछि, स्थानीय र प्राधिकरणको प्रयासमा मन्दिरको पुनर्निर्माणको बारेमा भारतीय दूतावासमा छलफल भयो। पुनर्निर्माणबाट भारत पछि हट्यो। मन्दिरको पुनर्निर्माणका लागि श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन भयो।

आफैँ मन्दिर बनाउने त भनियो। तर, मन्दिर निर्माणको लागत ४ करोड ९३ लाख निस्कियो। त्यसपछि मन्दिर निर्माणका लागि महानगरपालिकाले सहजीकरण गर्दै ललितपुर उद्योग वाणिज्य संघसँग मिलेर ‘मिटिङ’ बोलायो।

तस्विर : मंगल टोल सुधार संघ

महर्जन रकम उठाउनका लागि यसरी छलफल आयोजना गर्दा केही चलाखी गरेको बताउँछन्। ‘चन्दा दिन सक्ने सबैलाई आउनैपर्छ भनेर बोलायौं। बारम्बार सम्झायौं,’ उनले सुनाए।

बैठकमा मेयर महर्जनले भीमसेन मन्दिर पुनर्निर्माणका लागि महानगरले एक करोड रुपैयाँ दिने भनेर घोषणा गरे। अनि त्यहाँ आएका साहुहरुसँग सहयोग मागे।

एभरेष्ट बैकका अध्यक्ष बिके श्रेष्ठले आफ्नो पिता गणेशलाल श्रेष्ठको सम्झनामा मन्दिर पुनर्निर्माणका लागि भनेर एक करोड दान दिने घोषणा गरिहालेँ त्यहीँ। त्यसपछि नेपाल इन्भस्टमेन्ट बैंकको अध्यक्ष पृथ्वीबहादुर पाण्डे ले पनि एक करोड दिने भनेर घोषणा गरे। ठाउँको ठाउँ तीन करोड रुपैयाँ उठ्यो। त्यसपछि तदर्थ समितिका सदस्य र ललितपुर उद्योग वाणिज्य महासंघ लगायतका संघसंस्थाले समेत आर्थिक सहयोग गरे।

‘त्यसपछि १०-२०-२५ लाख राख्‍ने त कति कति!,’ महर्जनले भने, ‘मन्दिर निर्माणका लागि ज्यापु समाजका अध्यक्ष तीर्थलाल महर्जनले मन्दिर बनाउन चाहिने सबै प्रकाशका इँटा दिने घोषणा गरे। त्यसपछि हामी डराएनौं।’

भीमसेन मन्दिर पुनर्निर्माण प्रक्रिया नेपालका लागि नयाँ मोडालिटी बन्न पुग्यो। अहिले पनि सरकारले ठेक्का दिएर बनाउन लागेको मन्दिर अझै बनिसकेको छैन। ‘पिच रोड बनाउन च्याम्पियन ठेकेदारलाई मन्दिरको ठेक्का दिइयो। उसलाई के थाहा मन्दिरबारे? अहिलेसम्म बनेका छैनन् ठेक्कामा दिइएको मन्दिर। त्यसैले भीमसेन मन्दिर बनाउन सरकारसँग पैसा नलिने र ठेक्कामा नजाने भनेर हामीले भिजन बनायौं,’ मेयर महर्जनले भने।

तस्विर : मंगल टोल सुधार संघ

मन्दिर बनेपछि स्थानीयसँगै दान गर्ने साहुहरु पनि खुशी छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र व्यापार व्यवसायमा मात्र नभई धार्मिक सम्पदाको निर्माण गर्नुपर्छ भन्ने मान्यतामा रहेको सुनाए। ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछयोंले पनि मन्दिर निर्माण कार्यमा संघले पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

पाटनका अधिकांश मन्दिरहरुको पुनर्निर्माणको काम पुरातत्व विभागसँग मिलेर काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी)को प्राविधिक सहयोगमा भइरहेको छ। सबैजसो मन्दिरहरुको पुनर्निर्माण दाताहरुको सहयोगबाट नै सुनिश्चित भएका छन्। भीमसेन मन्दिर पुनर्निर्माणको काम पनि केभीपीटीकै प्राविधिक सहयोगमा भएको हो।

यस्तो छ मन्दिरको इतिहास

श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अनुसार पाटनमा भिंद्य: लाई चपा: बनाइ स्थापना गर्ने चलन रहेको छ। पाटन दरबार क्षेत्रमा रहेको यस मन्दिर साविकमा चपा: मा नै स्थापित भएको नेपाल संवत ७४७ को सिद्धिनरसिंह मल्लको पालाको शीलालेखमा उल्लेख छ।

पछि चपा: मा आगलागी भएपछि नेपाल संवत ८०१ मा श्री निवास मल्लका पालामा मन्दिर निर्माण भएको थियो। त्यस बेलासम्म त्यहाँ भीमसेनको मूर्ति थिएन। त्यहाँ भिंद्यको आकृतिविहीन मूर्ति रहेको थियो। नेपाल सम्बत ८२१ मा योगनरेन्द्र मल्लको पालामा मात्रै त्यहाँ भीमसेनको रौद्र रुपमा मूर्ति स्थापना भएको स्थानीय बताउँछन्।

कृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक भाद्र कृष्ण त्रयोदशीका दिन मन्दिरमा रहेका भीमसेनको मन्दिरलाई नगर परिक्रम गराउने चलन छ। मन्दिरको पहिलो तल्लामा करिब ६ फिट उचाई भएको रौद्र रुपका भीमसेनको मूर्ति छ। त्यस्तै त्यहाँ दुशासन, भैरव, महाकाली र द्रौपदीको मूर्ति रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell