
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीको कुकृत्यबारे अध्ययन हुनपर्ने बताएका छन्।
आइतवार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले ओलीलाई रावण, कंश र हिटलरसँग तुलना गरेका हुन्।
रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै नेपालले उनीहरुको कुकृत्य र ओलीको तुलनात्मक रुपमा अध्ययन आवश्यक रहेको बताएका हुन्।
ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको नेपालको आरोप थियो।
‘केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के के प्रवृत्तिहरु देखिए, कंशमा के के प्रवृतिहरु देखिए, शिशुपालले सय वटा के के अपराध गर्यो ? र हिटलरले के के कुकृत्य गरेको थियो ? ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस्,’ उनले भने।
हिटलरसँग ओलीको तुलना गर्दै नेपालले थप भने, ‘डेमोक्रेसीले नै जन्माएको हो हिटलर। तर डेमोक्रेसीले सबैलाई राम्रो मात्र जन्माउँदो रहेनछ। तानाशाह पनि जन्माउँछ। कम्युनिष्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने कुरा होइन। यो पात्र विशेषमा उत्पन्न भएको विकृत प्रवृति हो।’