PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

चिनियाँ विदेश मन्त्रीको ३ दिने भ्रमणका ३ सन्देश, फर्किए हिमालपारिका पाहुना



विधुर ढकाल

चिनियाँ विदेश मन्त्रीको ३ दिने भ्रमणका ३ सन्देश, फर्किए हिमालपारिका पाहुना

काठमाडौं : शुक्रवार तीन दिने नेपाल भ्रमणमा आइपुगेका चिनियाँ विदेश मन्त्री वाङ यी फर्किएका छन्। दक्षिण एसियाली देशहरुको भ्रमणमा निस्किएको एक सातापछि नेपाल आइपुगेका चिनियाँ स्टेट काउन्सिलर वाङले पहिलो गन्तव्य पाकिस्तानलाई बनाए।

चाइना-पाकिस्तान इकोनमिक करिडोर (सिपेक) मार्फत् दुई देशले महत्त्वपूर्ण साझेदारी गरिरहेका छन्। पाकिस्तानमा पुगेर विश्वका मुस्लिम राष्ट्रहरुका विदेश मन्त्रीको सम्मेलनमा सहभागिता जनाए। त्यसपछि उनी अफगानिस्तान पुगे। अफगानिस्तान हुँदै दिल्लीमा ओर्लिएका यी शुक्रवार नेपाल आइपुगेका थिए।

परराष्ट्रमन्त्री नारायण खड्कासँग चिनियाँ विदेश मन्त्री।


शनिवार नेपालका समकक्षी नारायण खड्डकासँग भेटवार्ता गरे। भेटवार्तापछि दुई देशका अधिकारी बिचको द्वीपक्षीय वार्ता भयो। वार्तामा दुई देशबिच ९ वटा सम्झौता तथा दस्तावेजमा हस्ताक्षर तथा आदानप्रदान भए। जसमध्ये आर्थिक तथा प्राविधिकि साझेदारी सम्बन्धी समझदारीपत्र, चिनियाँ सहयोगमा हुने चीन-नेपाल सीमापार रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक समहयोग सम्बन्धी दस्तावेज, नेपाल-चीन पावर ग्रिड इन्टरकनेक्सनको सम्भाव्यता अध्ययनका लागि साझेदारी समझदारीपत्र, नेपालबाट चीनमा स्वस्थ तथा सुरक्षित हायलेज (सुख्खा घाँस) निर्यात सम्बन्धी प्रोटोकल, नेपाली उत्पादनमा चीन निर्यात गर्दा लाग्ने ९८ प्रतिशतसम्म करको दर छुट सम्बन्धी ‘ड्युटी फ्रि ट्रिटमेन्ट’ लेटर अफ एक्सचेन्ज, अरनिको राजमार्गको तेस्रो चरणको मर्मत सम्हारपछिको हस्तान्तरण, नेपाल चीन रेलवे क्षेत्रमा साझेदारीका लागि नेपाल-चीन सातौँ बैठकको माइन्युट हस्तान्तरण, भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालमा चिनियाँ स्वास्थ्यकर्मीको टोली खटाउने सम्बन्धी प्रोटोकल र चीनको सहयोगमा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको उपलब्धता र स्वीकार सम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर भएका छन्।

माओवादी नेतृत्वसँगको छलफल।


आर्थिक तथा प्राविधिक साझेदारी सम्बन्धी समझदारी पत्र अनुसार चीनले सन् २०२० मा अनुदान उपलब्ध गराउने प्रतिवद्धता जनाएको ६०० मिलियन आरएमबी (११ अर्ब ५१ करोड ५९ लाख ७८ हजार रुपैयाँ) बाट दुई देशबीचको आपसी समझदारीमा परियोजना सञ्चालन गर्ने सहमति पनि भएको छ।

द्वीपक्षीय भेटवार्ताका क्रममा दुवै पक्षले व्यापार, लगानी तथा पर्यटनको क्षेत्रमा केन्द्रित भएर छलफल गरेका थिए। छलफलमा तातोपानी र रसुवागढी नाका निर्वाध रुपमा सञ्चालनका विषयमा छलफल भएको थियो। दुवै मन्त्रीले सम्बन्धित अधिकारीलाई यस सम्बन्धी काम गर्न निर्देशनसमेत दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

एमाले अध्यक्ष केपी ‌ओलीसँगको छलफलमा।


त्यस्तै, पर्यटन प्रवर्द्धन तथा जनसम्बन्ध निर्वाध सञ्चालनका लागि कोभिड-१९ का कारण रोकिएका यात्रुवाहक विमान यथासक्य चाँडो पुन:सञ्चालन गर्न सहमत भएका छन्।

साथै, वार्तामा दुवैपक्ष नेपाल चीन सीमा क्षेत्रमा रहँदै आएको शान्तिपूर्ण अवस्थालाई कायम राख्न सहमत भएका छन्। दुवै मन्त्रीले सीमाको संयुक्त अनुगमनका लागि सहमति जनाएका छन्।

भेटमा चिनियाँ विदेश मन्त्री वाङले नेपालमा रहेका चीनका अध्ययन संस्थामा अध्ययनरत विद्यार्थीको प्राथमिकताका आधारमा फिर्ता जाने वातावरण बनाउने प्रतिवदध्तासमेत जनाएका छन्।

विमानस्थलमा विदाई।


वाङ यीलेले बोलेका तीन चिनियाँ सन्देश

चिनियाँ विदेशमन्त्री वाङले भ्रमणका क्रममा नेपाललाई हरेक समयमा चीनले साथ दिइरहने प्रतिवदध्ता व्यक्त गरेका छन्। शनिवार परराष्ट्र मन्त्री खड्का, प्रधानमन्त्री शेरबहादुर देउवा तथा आइतवार राष्ट्रपति विद्‍यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टा छुट्टै भेटवार्ता गरे। यी भेटहरुमा व्यस्त हुँदा मन्त्री वाङले बेइजिङका तीन वटा सन्देश सुनाए।

प्रधानमन्त्रीसँग विदेशमन्त्री यी


चिनियाँ विदेश मन्त्रालयले प्रकाशित गरेको वक्तव्य भन्छ- दुई देशको अन्तर्राष्ट्रिय र घरेलु परिस्थिति जतिसुकै परिवर्तन भए पनि चीनले दुई देशका नेताहरू (चिनियाँ राष्ट्रपति सि चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी) को निर्देशनहरु, नेपाल प्रतिको मैत्रीपूर्ण नीतिलाई अडिग रूपमा कार्यान्वयन गर्ने, पारस्परिक लाभकारी सहयोगलाई अडिग रूपमा गहिरो बनाउने र अटल रूपमा अगाडि बढ्ने नेपाल चीनबिचको साझा भविष्यका लागि वाङ यीले जोड दिए।‘ चिनियाँ विदेश मन्त्रालयले मन्त्री वाङले चीनको नेपालका लागि तीन सहयोगलाई व्याख्या गरेको जनाएको छ।

पहिलो : नेपालको राष्ट्रिय अवस्थालाई अनुकूल हुने विकासको बाटो पहिल्याउन नेपाललाई सहयोग गर्ने। विदेश मन्त्री वाङले चीनको मैत्री नीति नेपालका सबै पार्टी र जनताका लागि खुला रहेको भन्दै नेपालका सबै पार्टी र समूहलाई नेपाली जनताको दीर्घकालीन स्वार्थ र आफ्नो मौलिकता अनुसार सहयोग गरिरहने बताएका छन्।

पोखरा विमानस्थलको चाबी।


साथै, चीनले नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकासको प्रवर्द्धन, जनताको जीवनस्तर सुधारका लागि समावेशी, संवाद, एकता, सामुहिता र सुशासनको नमुना स्थायित्व आवश्यक रहेको समेत बताएका छन्। नेपालको चाहनाको सम्मान गर्दै चीन नेपालसँग आफ्नो राज्य सञ्चालनको अनुभवलाई बाँड्न चाहेको वाङले बताएका छन्।

दोस्रो : नेपालको स्वतन्त्र आन्तरिक तथा वाह्य नीतिमा सहयोग गर्ने प्रतिवदध्तासमेत वाङबाट भएको छ। ‘सबै देशहरु चाहे ठूला वा साना हुन सबै बराबर छन्। सबै देशको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डता प्रति चीन सँधै प्रतिवद्ध छ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘चीन विश्वास गर्छ कि नेपालको आन्तरिक मामिला नेपाली जनताले नै निर्धारण गर्नुपर्छ। नेपालको सार्वभौमिकता र स्वतन्त्रताको अपमान, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप तथा नेपालमा हुने भूराजनीतिक खेलको चीन सँधै विरोधमा रहनेछ।‘

वाङले नेपाल चीनको दक्षिण एसियासँग हुने साझेदारीका लागि ‘हाइल्याण्‍ड’ हुनुपर्ने सन्देशसमेत दिएका छन्। ‘चिनियाँ पक्ष नेपालको अन्य देशसँगको मैत्री सम्बन्ध र नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा खेलेको महत्त्वपूर्ण भूमिका प्रति खुशी छ,’ विदेश मन्त्रालायले भनेको छ।

तेस्रो : ‘बेल्ट एण्ड रोड’ निर्माणमा नेपालको गहिरो सहभागिताका लागि सहयोग गर्ने। पछिल्ला वर्षमा दुई देशले संयुक्त रुपमा बेल्ट एण्ड रोड निर्माणका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै चिनियाँ विदेश मन्त्रालयले यसले नेपालको राष्ट्रिय निर्माणमा सहयोग पुर्‍याउने समेत जनाएको छ। ‘चिनियाँ पक्ष दुवै पक्षबाट छनोट भएका प्रमुख परियोजनालाई तीब्रता दिन, दुई देशबिचका सुख्खा बन्दरगाहको निर्वाध सञ्चालन गर्न, सीमा वारपार उर्जा साझदारीको विकास गर्न, दुई देशबिच आर्थिक तथा सांस्कृतिक आदान-प्रदानलाई बढाउन र ट्रान्स-हिमालय थ्री-डाइमेन्सनल इन्टरकनेक्सन नेटवर्क निर्माण गर्न चाहन्छ,’ विदेश मन्त्रालयले भनेको छ, ‘यसले दुई देशको साझेदारीमा हिमालयलाई लिंकको रुपमा स्थापित गर्नेछ।‘

वाङले चीन नेपाललाई आफ्नो विकासका तीन महत्त्वपूर्ण खेलाडीहरु - मानव संशाधन, भौगोलिक अवस्थिति र प्रकृतिक परिस्थितिको फाइदा दिन चाहेकोसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell