PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

नेपालमा 'आरआरआर'को आक्रामक व्यापार : दुई दिनमै दुई करोड भन्दा बढी कमायो



लक्ष्मी बलायर

नेपालमा 'आरआरआर'को आक्रामक व्यापार : दुई दिनमै दुई करोड भन्दा बढी कमायो

काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म 'आरआरआर'ले विश्वभर आक्रामक व्यापार गरिरहेको छ। ‘बाहुबली’ निर्देशक एसएस राजमौली निर्देशित यो फिल्मले भारतीय बक्सअफिसमा पनि तहल्का मच्चाइरहेको छ।

विश्वभरका ८ हजार स्क्रिनमा रिलिज भएको यस फिल्मले नेपालका सिनेमाहलमा पनि उच्च शो पाइरहेको छ। फिल्मले धेरै हलहरूमा एकल प्रदर्शनको मौका समेत पाएको छ।

गोपीकृष्ण मुभिजको 'सिस्टर कम्पनी' अ एट फिल्म्स प्राइभेट लिमिटेडले यस फिल्मलाई २ करोड भारतीय रूपैयाँ (करिब ३ करोड २० लाख नेपाली रुपैयाँ)मा नेपाल भित्र्याएको हो।

देशैभरका हलमा प्रदर्शनमा आएको यो फिल्मले नेपाली बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्ममा दर्शकको 'क्रेज' निकै रहेको हल संचालक बताउँछन्।

कमलादीस्थित क्युज सिनेमामा फिल्म 'आरआरआर' ले राम्रो कलेक्सन गरिरहेको संचालक सुमित मैनाली बताउँछन्।

'फिल्मले बक्सअफिसमा राम्रो आक्रामक व्यापार गरिरहेको छ। शुक्रवार र शनिवार सबै शोहरू हाउसफुल भए। आज पनि व्यापार राम्रो छ। फिल्मले दुई दिनमा १२ लाखको व्यापार गरेको छ,' उनले भने।

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्सले शुक्रवार 'आरआरआर' लाई ८९ वटा शो र शनिवार ८७ वटा शो दिएको थियो। दुई दिनमा फिल्मले १ करोड २२ लाख ग्रस कलेक्सन गरेको क्युएफएक्सका समिर श्रेष्ठले जानकारी दिए।

'फिल्मले निकै राम्रो व्यापार गरिरहेको छ। उपत्यकाभित्र र बाहिर फिल्मका सबै शोहरू हाउसफुल नै छन्। शुक्रवारभन्दा शनिवारको व्यापार बढी छ। राम्रो दर्शकहरू आइरहेको भएर अन्य शोहरू घटाएर 'आरआरआर' शोहरू बढाइरहेका छौं। आज पनि फिल्ममा ९० देखि ९५ प्रतिशत दर्शकहरू हुनुहुन्छ,' श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार पहिलो दिन फिल्मले ५७ लाखको व्यापार गरेको थियो। जसमध्ये उपत्यकाबाट ३५ लाख र उपत्यका बाहिर २२ लाख कमाएको थियो। त्यसैगरि, दोस्रो दिन भने उपत्यकाभित्र ३७ लाख र उपत्यकाबाहिर २८ लाख गरेर जम्मा ६५ लाखको व्यापार गरेको थियो।

बागदरबारस्थित सीटीसी मलमा रहेको ‘सीडीसी सिनेमाज' मा पनि दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ। शुक्रवारदेखि प्रदर्शनमा आएको यस फिल्ममा ९० देखि ९५ प्रतिशत दर्शकहरूको संख्या रहेको हल व्यवस्थापक जीवन शाक्यले बताए। उनका अनुसार यस फिल्मले दुई दिनमा ८ लाख रूपैयाँ कलेक्सन गरेको छ।

चाबहिलमा रहेको एफक्युब सिनेमामा पनि 'आरआरआर' का शोहरू हाउसफुल छन्। प्रदर्शनको सुरुवातदेखि नै यस फिल्मलाई १५ शो दिइएको छ। फिल्मले दुई दिनमा १५ लाखको व्यापार गरेको एफक्युब सिनेमाका व्यवस्थापक रामहरी कोइरालाले बताए।

भन्छन्, 'सम्पुर्ण शोहरू हाउसफुल छन्। हिजो र अस्ति फिल्मले निकै राम्रो व्यापार गरेको थियो। दुई दिनमा फिल्मले १५ लाखको कलेक्सन गरेको छ। जुन व्यापार कोरोना महामारीपछिको सबैभन्दा राम्रो हो। भोलि र पर्सिको शोहरू पनि बुक भइरहेका छन्।' फिल्मले कोरोना महामारीपछि सबैभन्दा उच्च शो पाउनुका साथै आक्रामक व्यापार गरेको उनको भनाइ छ।

'आरआरआर'ले नेपालमा आक्रामक व्यापार गरिरहेको वितरक मनोज राठी बताउँछन्। 'बाहुबली' भन्दा पनि बढी व्यापार राजामौलीको नयाँ फिल्मले नेपालमा गरेको उनको दाबी छ।

उनी भन्छन्, 'आरआरआर ले नेपालमा एकदमै राम्रो व्यापार गरिरहेको छ। जुन कोरोनापछिकै सबैभन्दा राम्रो हो। यस फिल्मले बाहुबलीलाई समेत पछाडि पारेको छ। उपत्यका र उपत्यकाबाहिर पनि दर्शकहरुको उपस्थिती राम्रो छ।'

शुक्रबारबाट देशैभर रिलिज भएको फिल्मले ठूला शहरमा आक्रामक ओपनिङ गरेको छ। स्रोतका अनुसार यस फिल्मले नेपालभरबाट दुई दिनमा २ करोड ५० लाखदेखि ३ करोडसम्मको ग्रस कलेक्सन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell