PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

क्रिकेटको कठिन समय: दुई खेलमा लगातार शतक तर किन हार्‍यो नेपाल?



मुकुन्द घिमिरे

क्रिकेटको कठिन समय: दुई खेलमा लगातार शतक तर किन हार्‍यो नेपाल?
तस्विरः क्यान

काठमाडौँ: यूएईमा विश्वकप लिग २ अन्तर्गतको खेल खेलेर स्वदेश फर्किएलगत्तै नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेल खेल्यो। यूएईमा चार खेल खेल्दा दुई जित र दुई हार ब्यहोरेको नेपालले घरेलु मैदानमा पपुवा न्युगिनीसँग लगातार दुई हार ब्यहोर्दै सिरिज गुमायो। युवा पुस्ताका खेलाडीलाई समेटेर बनेको टिमले ब्याटिङमा पछिल्ला दुवै खेलमा राम्रो प्रदर्शन गर्‍यो। कमजोर बलिङ र फितलो फिल्डिङका कारण दुई वटा खेलमा पराजय ब्यहोर्न पुग्यो।

शनिबार कीर्तिपुरमा नेपालले पराजय व्यहोरेपछि समर्थकहरुले कप्तान सन्दीप लामिछानेदेखि प्रशिक्षक पुबुदु दासानायके र क्यानका अध्यक्ष चतुरबहादुर चन्दसम्मको राजीनामा माग्दै नाराबाजी गर्न भ्याए।

नेपाली टोलीका कप्तान लामिछाने समर्थकहरुको आक्रोशलाई सामान्य मान्छन्।

'यस्तो रिजल्ट आउँदा कोही पनि खुसी हुँदैन। टिम नै खुसी हुँदैन भने समर्थकहरुले धेरै आश बोकेका हुन्छन्। यो दुईवटा खेलमा हामीले धेरै कुरा प्रयोग गर्नुपर्थ्यो। हामीले भविष्यको बारेमा कुराहरु सोचिरहेका छौं,' उनले भने, 'युवा टिमलाई लिएर खेल्दा जितिन्छ र हारिन्छ पनि। विश्वकप छनोटको खेलमा पनि युवा टिम थियो तर हामीले राम्रो गर्‍यौं। त्यही एउटा खेल खराब भइदियो। विश्वकपमा छनोट हुन नसके पनि हामी राम्रो बाटोमा गइरहेका छौं।'

दुई शतक दुई हार

नेपालका लागि पारस खड्काले मात्र एकदिवसीय शतक बनाएकोमा यो सिरिजबाट दुई जना खेलाडीले शतक बनाए। शुक्रबारको खेलमा रोहितकुमार पौडेलले १२६ रनको शतकीय पारी खेले। उनी एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी समेत बने। उनले १७ खेल खेल्दा ६२३ रन बनाएका छन् भने दोस्रो स्थानमा रहेका ज्ञानेन्द्र मल्लले १९ खेलबाट ४८० रन बनाएका छन्।

युएईबाटै प्रशिक्षकलगायतले शतक बनाउनुपर्छ भनेर हौसला दिइरहेको भए पनि त्यहाँ शतक बनाउन नसकेको तर घरेलु मैदानमा आएर बनेको पौडेलले बताए। तर सँगसँगै खेल जित्न नसक्दा शतकको ‘सेलिब्रेसन’ गर्न नसकेको उनले बताए।

'जितसँगै शतक भएको भए राम्रो हुने थियो। तर फिनिसिङ गर्न सकिएन। यूएईसँग पनि त्यस्तो अवसर थियो। पिएनजीसँग पनि थियो। त्यही भएर पनि मजा आएन,' उनले भने, 'शतकपछि सेलिब्रेसन नगर्नुको कारण फिनिसिङ गर्ने चाहना थियो। त्यसपछि सेलिब्रेट गर्छु भन्ने थियो।'

त्यस्तै सिरिजको दोस्रो र नेपालको एकदिवसीय इतिहासको तेस्रो शतक बन्यो दिपेन्द्रसिंह ऐरीको। पिएनजीसँगको धर्मराएको ब्याटिङ सम्हालेका ऐरीले १४० बलमा १०५ रन बनाउँदै नेपालको स्कोर सम्हालेका थिए। नेपाली टोलीलाई ओमनमा विश्वकप छनोट ‘ए’ मा सेमिफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका खेलाडी हुन् ऐरी। तर, लगत्तै यूएईमा सम्पन्न विश्वकप लिग २ को सिरिजमा एकदिवसीय फर्म्याटमा भने उनी जम्न सकेनन्। त्यहाँका चारवटै खेलमा उल्लेखनीय ब्याटिङ गर्न नसकेका उनले कीर्तिपुरको पहिलो खेलमा पनि ब्याटिङको जादु देखाउन सकेनन्। पहिलो खेलपछि कप्तान लामिछानेले केही खेलमा रन बनाउन नसके पनि ऐरी टिमको उत्कृष्ट ब्याट्सम्यान भएको बताएका थिए।

'बलिङले उनको ब्याटिङमा असर परेजस्तो लाग्दैन। उनले यू १९ छँदा देखिनै पुरै बलिङ ब्याटिङ सम्हाल्दै आएका थिए। उनले बलिङमा पनि योगदान गर्नु टिमका लागि महत्वपूर्ण छ,' कीर्तिपुरमा पहिलो खेलपछि कप्तान लामिछानेले भनेका थिए, 'उनी ब्याटिङमा उत्कृष्ट मध्येका एक हुन्। एकदुईवटा खेलमा रन बनिरहेको छैन, तर उनी पनि उत्कृष्ट ब्याटर हुन्।'

तर दोस्रो खेलमा उनैले शतकीय पारी खेले। त्यसमा कप्तान लामिछानेले भने: दीपेन्द्रको राम्रो भएन भनेर पनि चर्चा चलिरहेको थियो। तर, मलाई लाग्छ हामीसँग भएको सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान उ नै हो। उनले फेरि आफूलाई प्रमाणित गरेका छन्। उनले बलिङ, फिल्डिङ र ब्याटिङमा राम्रो गर्दै आएका छन्।

दुई खेलमा दुई खेलाडीको ‘ब्याक टू ब्याक’ शतकका बावजुद नेपालले दुबै खेल गुमायो। पहिलो खेल ६ रनले र दोस्रो खेल ३ विकेटले गुमायो।

हारको कारण

पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले कप्तान असद भाला र चार्लस अमिनीको अर्धशतकको सहायतामा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल रोहित पौडेलको शतकीय पारिको बावजुत २८६ रनमा समेटियो।

कप्तान सन्दीप लामिछाने दुबै टोलीको खेल राम्रो भए पनि पराजय व्यहोर्नुपर्दा सबैकुरा फेरिएको बताउँछन्। बलिङमा ३०/४० रन बढी दिनु र ब्याटिङमा विकेट लगातार गइरहनुले टिमले पराजय ब्यहोर्नुपर्नेको कप्तान लामिछानेको बुझाइ छ।

'खेल एकदमै राम्रो थियो टिमको लागि। एकदमै राम्रो क्रिकेट थियो दुबै टिमको। तर हारिसकेपछि केही राम्रो हुँदैन,' उनले भने, 'बलिङमा ३०/४० रन बढी चाहिँ दिएको हो। आउटफिल्ड क्विक थियो। केही फरक थियो यूएईको भन्दा। बिहानको मैदान एक्सपेक्ट गरेको भन्दा अली फरक नै थियो। पीएनजीको ब्याटरलाई पनि एप्रिसिएट गर्नै पर्छ, जसरी उनीहरुले खेल अघि बढाए। साझेदारी बनाए।'

यद्यपि यो खेलले केही सकारात्मक कुराहरु पनि दिएको उनी बताउँछन्।

'हाम्रो ब्याटिङमा महत्वपूर्ण विकेट गइरहनु चाहिँ कमजोरी रह्यो। धेरै सकारात्मक कुरा छन् यो खेलका। आरिफ र रोहितको साझेदारी, रोहितको शतकीय पारी। यो गेम अझै चेज गर्न सक्थ्यौं जस्तो लाग्छ।' उनले भने।

दोस्रो खेल पनि त्यतिकै रोमाञ्चक रह्यो, तर जित नेपालको पक्षमा आएन।

दोस्रो खेलमा स्कोर केही कम भएको र बलिङमा खास गरी गुलशन झा चोट व्यहोर्दै बाहिरिनु हारको मुख्य कारण मध्ये प्रमुख देखेका छन् लामिछानेले।

'ब्याटिङमा १५ देखि २० रन कम भयो। तर डिफेन्ड गर्नका लागि हाम्रो स्कोर राम्रो थियो। बलिङमा गुलशनलाई गुमाउँदा एकजना मुख्य बलरको कमी रह्यो। यसको बावजुत २८० डिफेन्ड गर्न सक्नुपर्ने हो। मैले पनि केही ओभर फालिसकेपछि गुलशन घाइते हुँदा योजना सबै बिग्रियो,' उनले भने, 'मेरो ओभर पनि सर्ट भयो। पार्टनरसीप ब्रेक गर्न नसक्नुको आफैँ 'ब्लेम' लिन्छु। गुलशनको चोटले धेरै असर गर्‍यो। हरेक जित निस्किँदैन, हरेक दिन राम्रो हुँदैन।'

दुवै खेलमा फिल्डिङ कमजोर रहेको लामिछाने स्वीकार्छन्।

'यो दुईवटा गेममा सोचेजस्तो फिल्डिङ गर्न सकिएको छैन। २०/२५ रन बढी त कमजोर फिल्डिङले नै गएको छ। यो हाम्रो लागि कठिन समय थियो। कतिपय हाम्रो लागि नकारात्मक विचार पनि देखिन्छ। अब हेरौं टी २० मा कतिको बलियो भएर आउन सक्छौं,' उनले भने।

त्यस्तै नेपाली टोलीले साझेदारी बनाउन नसक्दा र अनुभवको कमी रहेको कमजोरी देखिएको लामिछानेले स्वीकारे।

'पार्टनरसीप बनाउन सकेका छैनौं। युवा खेलाडीले बलिङ पनि गरेको छैन। हामी लर्निङ फेजमै छौं। हामी विकेटमा अलि हतारिएका छौं,' उनले भने, 'ओपनिङ अहिले पनि हाम्रो फिक्स्ड भएको छैन। ओपनिङको लागि नयाँ जोडीलाई ट्राइ गरेका थियौं। तर, अझै काम गरेको छैन। त्यसैले सबैका लागि एउटा अवसर छ आफूलाई प्रमाणित गर्ने।'

लिग टू 'साइकोलोजी'

एकदिवसीय क्रिकेटमा नेपालले खेलिरहेको ठूलो प्रतियोगिता हो क्रिकेट विश्वकप लिग टू को साइकल। जसमा सात देश सहभागी छन्। यी सातदेशमध्ये पुछारको टोली हो पपुवा न्युगिनी। यूएईमा लिग २ को खेलमा पिएनजीसँग सरासर दुई जित निकालेको नेपालले घरेलु मैदानमा लगालग दुई हार व्यहोर्‍यो। 

पीएनजीले लिग २ मा १६ खेल खेल्दा मात्र १ जित निकालेर तालिकाको पुछारमा छ। त्यसअघि छैटौं नम्बरमा नेपाल १२ खेलमा ६ जित र ६ हार व्यहोरेर रहेको छ। अगाडि लिग २ का खेल बाँकी छँदै घरेलु मैदानमा पिएनजीसँगको हारले टिमको मनोविज्ञानमा असर नगर्ला भन्ने प्रश्नलाई सन्दीप अस्वीकार गर्छन्। 

'लिग २ मा तालिकाको पुछारमै भए पनि पिएनजी एसोसिएटमा कमजोर टिम होइन। जस्तै ओमन लिगको शीर्ष स्थानमा छ तर हामीले पछिल्लो पटक हराएका थियौं। हाम्रो टिममा उनीहरुसँग जति अनुभव छैन। यो खेलको पार्ट हो,' लामिछानेले भने।

उनी यो सिरिजबाट नकारात्मक भन्दा सकारात्मक पक्ष खोज्ने पक्षमा देखिन्छन्। त्यस्तै धारणा छ प्रशिक्षक पुबुदु दासानायकेको पनि।

'खेलको बारेमा कुरा गर्दा म सँग नकारात्मक पक्ष भन्दा सकारात्मक पक्ष धेरै छन्। बलिङ केही खेलयता ट्र्याकभन्दा बाहिर गएको छ,' उनले भने, 'पहिलो पटक ब्याक टू ब्याक शतक आएको छ। ब्याटिङ सेपमा आएको छ।'

अब टी २० सिरिज

कीर्तिपुरमा सोमबारदेखि त्रिदेशीय टी २० सिरिज हुँदैछ। पिएनजीका कप्तान असद भालाले सकेसम्म छोटो फर्म्याटमा ढल्न आफूहरुले प्रयत्न गर्ने बताएका छन्। त्यस्तै लामिछानेले पनि टी २० मा राम्ररी आउने विश्वास देखाएका छन्।

सोमबार नेपाल, मलेसिया र पिएनजी सम्मिलित त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाल र पिएनजी नै कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा उत्रनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell