PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

गैरआवासीय नेपालीलाई प्रधानमन्‍त्रीको आग्रहः विदेशमा आर्जन गरेको सीप र पुँजी नेपालको लगानी गर्नुस्



रासस

गैरआवासीय नेपालीलाई प्रधानमन्‍त्रीको आग्रहः विदेशमा आर्जन गरेको सीप र पुँजी नेपालको लगानी गर्नुस्

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेका छन्।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्रविधिलाई सङ्गठित बनाउन आवश्यक रहेको बताए।

प्रधानमन्त्री देउवाले भने, “विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्राविधिक ज्ञानलाई सङ्गठित र एकत्रित गरी मुलुकको आर्थिक विकासमा परिचालन गर्न अब गैरआवासीय नेपाली सङ्घले निश्चित कार्ययोजना र रणनीति नै बनाएर अघि बढ्न आवश्यक छ भन्ने मलाई लागेको छ।”

प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको समृद्धि र नवनिर्माणको खातिर उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानूनी सुधार गरी सहजीकरण गर्दै आइरहेको उल्लेख गरे। उनले यसलाई आगामी दिनमा पनि क्रमशः सुधार गर्दै गैरआवासीय नेपालीले सहजरूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गरिने विश्वास दिलाए।

प्रधानमन्त्री देउवाले भने, “गैरआवासीय नेपालीको लगानीलाई मुलुकको समृद्धिका खातिर लगानीको सहज वातावरण बनाउन सरकारले नीतिगत सुधार र  कानूनी सहजीकरण गर्दै आएको छ, आगामी दिनमा पनि नेपालीले सहजरूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गरिनेछ।”

प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रूपान्तरण र दिगो विकासका लागि आधुनिक र गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण हुन आवश्यक रहेको र त्यसका  निम्ति मुलुकमा ठूला विद्युत् आयोजना, सडकलगायत परियोजना कार्यान्वयन गर्न पुँजी र प्रविधि दुवैको उच्च खाँचो औँल्याए।

प्रधानमन्त्री देउवाले विसं २०७२ को महाभूकम्पका बेलामा उद्धार तथा राहत र पुनःनिर्माण तथा कोभिड-१९ को महामारीका बेलामा मेडिकलजन्य उपकरण र स्वास्थ्य सामग्रीको सहयोगलगायत योगदान सह्राहनीय रहेको भन्दै नेपाल र नेपालीलाई अप्ठ्यारो परेको बखत गैरआवासीय नेपाली सङ्घबाट प्राप्त साथ, सहयोग र समन्वयप्रति सरकारकोतर्फबाट आभार व्यक्त गरे।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा,  कलाकृति र साहित्यको प्रचारप्रसार गर्न र भावीपुस्तामा हस्तान्तरण गर्नसमेत उपयोगी सेतुको काम गरेको उल्लेख गरे।

उनले आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा पनि नेपाली माटो र नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्न सङ्घले आफ्ना क्रियाकलापलाई सशक्तरूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली सङ्घका मागप्रति सरकार संवेदनशील रहेको र उनीहरूको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकार सधैँ सकारात्मक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell