
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि ५ विकेटको रोमाञ्चक जित निकालेको छ। मुम्बईस्थित डीवाई पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा बेङ्ग्लोरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले एक ओभर बाँकी छँदै भेट्टाएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई विशाल स्कोरतर्फ लैजान कप्तान फाफ डुप्लिसले अर्धशतकीय पारी खेलेका थिए। उनले ५७ बलमा ७ छक्का र ३ चौकाको सहायतामा ८८ रन बनाए। त्यस्तै अनुज रावतले २१ रन बनाउँदा बिराट कोहली ४१ र दिनेश कार्तिक ३२ रनमा अविजित रहे। र, २ विकेटको क्षतिमा बेङ्ग्लोरले २०५ रनको विशाल स्कोर खडा गर्न सफल भयो।
बलिङतर्फ पञ्जाबका अश्रदीप सिंह र राहुल चहरले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पञ्जावका लागि मयंक अग्रवाल र शिखर धवनले उत्कृष्ट सुरुवात दिए। अग्रवालले ३२ रन बनाउँदा धवनले र भानुका राजापाक्षेले समान ४३ रन बनाए। राजपाक्षेले २२ बलमा ४ छक्का र २ चौका प्रहार गरे। त्यस्तै ओडियन स्मिथले आक्रमक ब्याटिङ गर्दै पञ्जावलाई जितसम्म लगे। उनले ८ बलमा ३ छक्का र १ चौकाको सहायतामा अविजित २५ रन जोड्दा शाहरुख खान २४ रनमा अविजित रहे।
बलिङतर्फ बेङ्ग्लोरमा मोहम्मद सिराजले सर्वाधिक दुई विकेट लिँदा आकाश दीप, वानिन्दु डी सिल्भा र हर्षल पटेलले समान १ विकेट लिए।
आजै सम्पन्न पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो।