PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

म्यादी प्रहरीमा युवाको आकर्षण : मास्टर्स डिग्री गरेकादेखि पूर्व प्रहरीसम्मको आवेदन



पहिलोपोस्ट

म्यादी प्रहरीमा युवाको आकर्षण : मास्टर्स डिग्री गरेकादेखि पूर्व प्रहरीसम्मको आवेदन

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि नेपाल प्रहरीले १ लाख म्यादी प्रहरीको लागि भर्ना खुलायो। चैत ६ गतेदेखि ११ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको लागि आवेदन भर्न मानिसहरु पुगे। ६ महिनाको नानी बोकेका आमादेखि पूर्व म्यादी प्रहरी नै आवेदन फारम भर्ने लाइनमा देखिए।

४० दिनको लागि ४४ हजार रुपैयाँ पाउने जागिर खान युवाको आकर्षण देखियो। देशमा बेरोजगारीको अवस्थालाई समेत म्यादी प्रहरीको मोहले छर्लङ पारेको थियो। १ लाख संख्यामा भर्ना मागे पनि झन्डै तेब्बरले आवेदन दिएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार २ लाख ९३ हजार ३ सय १२ जनाले आवेदन दिएका छन्। जसमा ६९ हजार ६ सय ८० जना महिला रहेका छन्। २ जना तेस्रो लिङ्गी समेत रहेका छन्। कुल आवेदनमा महिलाको आवेदन २३ प्रतिशत हो।

आवेदन दिनेमा पूर्व प्रहरी, सेना र वन रक्षक समेत रहेका छन्। प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार आवेदन दिनेमा २ हजार ५ सय ३७ जना पूर्व नेपाली सेना रहेका छन्। जसमा ११ जना महिला छन्। त्यस्तै १ हजार ४ सय ३१ जना पूर्व नेपाल प्रहरी रहेका छन्। जसमा १६ जना महिला रहेका छन्। सशस्त्र प्रहरीका पूर्व प्रहरीले पनि आवेदन भरेका छन्। ४ सय ८९ जना सशस्त्र प्रहरीबाट आवेदन परेको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए। १ जना महिला सहित ३४ जना बन रक्षकले ४० दिने म्यादी प्रहरीको लागि आवेदन दिएका छन्।

३० वर्षमुनिका युवाको आवेदन धेरै

म्यादी प्रहरीको लागि १८ वर्ष पूरा भएकादेखि ४५ वर्ष उमेर समूहका मानिसले आवेदन दिएका छन्। जसमा सबैभन्दा धेरै आवेदन ३० वर्ष मुनिकाहरुको परेको देखिएको छ। २० वर्ष उमेर समूहसम्मका आवेदन दिनेको सङ्ख्या ८३ हजार ६ सय २९ रहेको छ।

२० देखि ३० वर्ष उमेर समूहका मानिसले आवेदन दिनेको सङ्ख्या १ लाख ३३ हजार  ४ सय ७६ रहेको छ। ३० देखि ४० वर्षसम्म आवेदन दिनेको सङ्ख्या ५४ हजार ८ सय ४७ रहेको नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ। ४० देखि ४२ वर्षसम्म २१ हजार ३ सय ६२ रहेको छ।

साधारण लेखपढदेखि मास्टर्स सम्मको आवेदन

म्यादी प्रहरीको लागि शैक्षिक योग्यता साधारण लेखपढ भए पुग्छ। तर स्नातकोत्तर गरेका सम्मले आवेदन दिएको देखिएका छन्।

करिब ३ लाखको आवेदन पर्दा ३ सय ४१ जना स्नातक भन्दा माथि पढेका रहेका छन्। सबैभन्दा धेरै आवेदन साधारण लेखपढ गरेकाहरूको रहेको छ। १ लाख ७७ हजार ७ सय ५० जना साधारण लेखपढ गरेका रहेका छन्।

८३ हजार २ सय ११ जनाले एसएलसी दिएका छन्। प्लस टु गर्नेहरूको सङ्ख्या पनि ३२ हजार १२ रहेको छ। आवेदन दिएकाहरू मध्येबाट शारीरिक र लिखित परीक्षाबाट छनौट गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell