PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

इलोन मस्क किन चाहन्छन् नयाँ सोसल मिडिया प्लेटफर्म बनाउन?



पहिलोपोस्ट

इलोन मस्क किन चाहन्छन् नयाँ सोसल मिडिया प्लेटफर्म बनाउन?
FILE PHOTO: REUTERS

इलोन मस्कले नयाँ सामाजिक सञ्जाल बनाउनेबारे ‘गम्भीर विचार’ गरिरहेको बताएका छन्

ट्विटरले अभिव्यक्ति स्वतन्त्रतालाई अनुमति नदिएको दाबी गरेका मस्कले ट्विटरको आलोचना गर्दै शनिवार एक ट्विटमार्फत नयाँ सामाजिक सञ्जालको विषय उठाएका हुन्।

 

‘ट्विटर वास्तविक रुपमा 'पब्लिक टाउन स्क्वायर'को रूपमा छ, तर अभिव्यक्ति स्वतन्त्रता सिद्धान्तहरूको पालना गर्न असफल हुँदा लोकतन्त्र कमजोर हुन्छ’, मस्कले ट्वीटमा भनेका छन्, ‘अब के गर्नुपर्छ?’

 

त्यसलगत्तै उनले अब नयाँ प्लेटफर्म चाहिन्छ कि भनेर पनि आफ्ना फलोअर्ससँग सोधेका छन्।

सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)सँग २०१८ मा भएको सम्झौता अनुसार कम्पनीको बारेमा ट्वीट पोस्ट गर्नुअघि मस्कले टेस्लाका अन्य कार्यकारीहरूबाट पूर्व-अनुमोदन लिनु आवश्यक छ।

मस्कले नोभेम्बरमा आफ्ना ट्विटर फलोअरहरूलाई टेस्लाको आफ्नो १० प्रतिशत सेयर बेच्नुपर्छ कि भनेर सोधेका थिए। उनको सो ट्विटले सेयर मार्केटमा प्रभाव परेको भन्दै एसईसीले टेस्लालाई स्पष्टीकरणको निर्देशन दिएको थियो। जसलाई सीईओ मस्कले ‘ह्यारेसमेन्ट’को संज्ञा दिएका छन्।

यसै हप्ताको सुरुमा एसईसीका नियामकले एक संघीय न्यायाधीशसँग मस्कका ट्विटहरूमाथि छानबिन जारी राख्न अनुमति दिन आग्रह गरेका थिए।

यदि मस्क आफ्नै प्लेटफर्म सुरु गर्न अगाडि बढे भने ‘अभिव्यक्ति स्वतन्त्रता’को सवाल उठाउँदै स्थापित सामाजिक सञ्जालहरूलाई त्यागेर आफ्नै प्लेटफर्म खोल्ने सार्वजनिक व्यक्तित्वहरू र टेक्नोलोजी कम्पनीहरूको बढ्दो सूचीमा उनी पनि सामेल हुनेछन्। जनवरी २०२१ देखि ट्विटरले प्रतिबन्ध लगाएपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपको एक हिस्साको रूपमा फेब्रुअरीमा ‘ट्रुथ सोसल’ सुरु गरेका थिए।

रम्बल, पार्लर, गेटर र अन्य सेवाहरू पनि मूलधारका सामाजिक सञ्जालहरूको विकल्पको रूपमा आएका हुन्। गत ६ जनवरीमा अमेरिकामा आन्दोलनकारीहरूले हिंसा भड्काउन पार्लरको प्रयोग गरेको आरोपको बिचमा सो एपलाई एप्पलको एप स्टोरबाट हटाइएको थियो। कम्पनीले घृणा फैलाउने भाषणलाई राम्रोसँग पत्ता लगाउन र नियमन गर्नका लागि सुधारहरू गरेको दावी गरेसँगै अप्रिलमा यो एप एप स्टोरमा फर्किएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell