PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रधानमन्त्री देउवा चैत्र १८ मा भारत जाने, भ्रमण औपचारिक हुने



पहिलोपोस्ट

प्रधानमन्त्री देउवा चैत्र १८ मा भारत जाने, भ्रमण औपचारिक हुने
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र १८ गते (१ अप्रिल) भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी डा आरजु राणा पनि रहने बताइएको छ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, अन्य मन्त्रीहरु, सरकारका सचिव तथा अधिकारीहरु रहने मन्त्रालयले जनाएको छ।

भ्रमणले नेपाल र भारतबिचको बहुआयामिक, वर्षौँ पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति एम वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

उनले चैत्र १९ मा हैदरावाद हाउसमा मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको छ। मोदीले देउवाको सम्मानमा दिवाभोजको आयोजना गर्ने बताइएको छ।

त्यसैगरी, देउवासँग भारतका परराष्ट्रमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि भेट गर्ने कार्यक्रम रहेको छ।

देउवाले आफ्नो भ्रमणको अवसरमा नयाँ दिल्लीमा व्यापारी नेताहरूको भेलालाई सम्बोधन गर्ने भएका छन्। देउवाले चैत्र २० गते काठमाडौं फर्कनुअघि बनारसको पनि भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell