
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गठबन्धन कायमै राख्न आफूले भूमिका खेलिरहेको बताएका छन्। रोल्पमा जनयुद्ध स्मृति भ्यू टावरको उद्घाटन गर्दै प्रचण्डले गठबन्धन टुटाउन चलखेल भइरहेको र त्यसलाई माओवादीले सफल हुन नदिने बताएका हुन्।
उनले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चुनावी तालमेल गर्न प्रयास गरिरहेको बताए।
'टुटाउन अझै पनि चलखेल भएका छन्। शान्ति सम्झौताका हस्ताक्षरकर्ता दृढताका साथ गठबन्धन कायम राख्ने र आगामी निर्वाचनमा पनि रेकर्ड बनाएर जानुपर्छ भन्ने मान्यताबाट अगाडि बढिरहेका छौं,' उनले भने।
रोल्पा युद्धकालका बेलामा मात्रै नभइ विकासका हिसाबले पनि 'किल्ला' भएको प्रचण्डको भनाइ छ। उनले आउने स्थानीय तहको निर्वाचनमा पनि रोल्पा माओवादीको किल्लाकै रुपमा रहने बताए।
शान्ति सम्झौता र जनयुद्धको सुरुवातको केही समय आफू रोल्पामै बसेकाले रोल्पाप्रति आफ्नो विषेश सम्वेदना रहेको उनको भनाइ थियो।