PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

शेखरले नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर माओवादीलाई बोक्ने भनेपछि देउवाको जवाफ : कांग्रेसको नीति सिद्धान्तबारे मलाई नसिकाउनुस्



पहिलोपोस्ट

शेखरले नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर माओवादीलाई बोक्ने भनेपछि देउवाको जवाफ : कांग्रेसको नीति सिद्धान्तबारे मलाई नसिकाउनुस्

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति एवम् प्रधानमन्‍त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच सवाल जवाफ भएको छ।  

स्थानीय तह निर्वाचन, उम्मेदवार लगायतका विषयमा शुक्रवारदेखि नै कांग्रेसले केन्द्रीय समितिमा छलफल गरिरहेको छ। कांग्रेसमा आसन्न चुनावमा तालमेल गर्ने विषयमा एकमत छैन।

चुनावी तालमेलकै बारेमा आजको बैठकमा शेखर कोइरालाले देउवालाई लक्षित गर्दै प्रश्न गरेका थिए। उनले पार्टी सभापतिले प्रतिपक्षी दल बलियो भनेर बोल्दा कार्यकर्ताको मनोबल घट्ने समेत बताए।

‘तालमेल किन र केका लागि ? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नु? पहिले पार्टीभित्र एक हुनुपर्छ। सभापतिले एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढ्ला? कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माअवादीलाई बोक्न सकिन्छ?  शेखरले प्रश्न गरे।

शेखरले प्रश्न गरेपछि गृहमन्त्री बालकृष्ण खाणले आफ्नो विचार राखेका थिए। उनले सरकार बन्ने बेलामै तीनै तहको चुनावमा गठबन्धन हुने सहमति भएको बताए। उनले गठबन्धन हुँदा पार्टीमा समस्या आउन नहुनेमा जोड दिए।

भने, ‘त्यो सहमति कांग्रेसले तोड्न हुँदैन। तर गठबन्धनका नाममा आफ्नो संगठन अलगथलग पार्न हुँदैन।’

खाणले तालमेलबारे सहमति भएको बताएपछि बैठकलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए। देउवाले शेखर कोइरालालाई आफूलाई कांग्रेसको सिद्धान्त नसिकाउन भन्दै जवाफ फर्काए।

शेखरले ‘माओवादीलाई बोक्ने’ भन्दै प्रश्न गरेपछि आक्रोशित बनेका देउवाले माओवादीलाई आफूले नभइ गिरिजाप्रसाद कोइरलाले ल्याएको बताए। उनले शेखरलाई गिरिजाप्रसादलाई किन प्रश्न गर्न नसकेको भन्दै पहिला गठबन्धन नगर्दा भोगेको पराजयबारे अवगत गराएका थिए।

‘म कांग्रेसको सिद्धान्त कसरी तोड्छु?  माओवादीलाई मैले ल्याएको हो कि गिरिजाबाबुले? हिजो गिरिजाबाबुलाई प्रश्न गर्न सक्नु भयो? अहिले माओवादीलाई बोक्यो भन्ने? हिजो गठबन्धन नगर्दा तपाईंहरू पनि हार्नु भएको हैन?,’ देउवाले शेखरलाई भने, ‘म पनि बालबाल जितेको हुँ नी! हिजो पनि तपाईंहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको होइन? कांग्रेसको नीति सिद्धान्तका बारेमा मलाई नसिकाउनुस्। म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ।’

देउवा हाल सत्तारुढ गठबन्धनसँग तालमेल गरेर अघि बढ्ने पक्षमा छन्। तर शेखर समूह भने तालमेलको विपक्षमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell