
काठमाडौं: नेपाली क्रिकेट टोलीले नेपाल, मलेसिया र पपुवान्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा पपुवान्युगिनीलाई हराउँदै सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पीएनजीलाई १५ रनले हराउँदै प्रतियोगितमा सुखद सुरुवात गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजी १९.२ ओभरमा १६८ रनमा समेटियो।
उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनर आशिफ शेखले ४३ रन बनाउँदा कुशल भुर्तेलले २० रन बनाएका थिए। त्यस्तै रोहित कुमार पौडेलले ३४ रन बनाउँदा आरिफ शेखले ३१ रन बनाए।
बलिङतर्फ पपुवा न्युगिनीका अलेइ नाओ, चाड सोपर र चार्ल्स अमिनीले समान २ विकेट लिँदा नोर्मन भउना र रिले हेकुरेले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले नोर्मन भउनालको आक्रमक अर्धशतकको सहायतामा नेपाललाई दवाब दिए पनि अन्तिम ओभरमा आएर नेपालले जित निकालेको हो।
पीएनजीका भौनाले ४ छक्का र ५ चौकाको सहायतामा ५२ रन बनाउँदा सेसे बाउले ३०, चार्ल्स अमिनीले २२ तथा लेगा सिएकाले २१ रन जोडे।
बलिङतर्फ नेपाली टोलीका कप्तान सन्दीप लामिछाने र करण केसीले सर्वाधिक ३ विकेट लिँदा अभिनास बोहोराले २ तथा सोमपाल कामीले १ विकेट लिए।
सिरिजको दोस्रो खेलमा मंगलवार मलेसिया र पीएनजी भिड्नेछन्।