इण्डियन प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्टलाई हराउँदै सुखद सुरुवात गरेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा गुजरातले लखनउमाथि ५ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो जवाफी ब्याटिङमा उत्रिएको गुजरातले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो।
सुरुवाती ब्याटिङ गरेको ओपनर तथा कप्तान केएल राहुललाई शुन्य रनमै गुमाएको थियो भने अर्का ओपनर क्विन्टन डि कक ७ रनमै पेभेलियन फर्कँदा सुरुबाटै ब्याटिङमा संकट ब्यहोरेको थियो। त्यसपछि आएका इभेन लेविस र मनिष पाण्डेले क्रमश १० र ६ रन बनाउँदै आउट हुँदा दीपक होडा र आयुष बदोनीले पारी सम्हालेका थिए। अर्धशतकीय पारि खेलेका होडाले सर्वाधिक ५५ रन बनाउँदा बडोनीले ५१ रन बनाए। त्यस्तै क्रुणाल पाण्ड्या २१ रनमा अविजित रहे।
बलिङतर्फ मोहम्मद शमीले ३ विकेट लिँदा वरुण एरोनले २ तथा राशिद खानले १ विकेट लिए।
जवाफी ब्याटीङमा उत्रिएको गुजरातले पनि ओपनर शुभमन गिललाई शुन्य रनमै गुमाएको थियो। गुजरातका लागि आक्रमक ब्याटिङ गरेका राहुल तेवातियाले सर्वाधिक अविजित ४० रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले ३३ तथा डेभिड मिलर र म्याथु वेडेले समान ३० रन बनाए। त्यस्तै अभिनव मनोहर १५ रनमा अविजित रहे।
बलिङतर्फ दुस्मन्था चमिराले २ विकेट लिँदा अवेश खान, क्रुणाल पाण्ड्या र दीपक होडाले समान १ विकेट लिए।
अर्को खेलमा भोलि साँझ सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स आमनेसामने हुनेछन्।