.png)
काठमाडौं : बैंकिङ कसुरमा पक्राउ परेका ग्रीनलाइनका संचालक अमित अग्रवालले ४५ लाख धरौटी बुझाएर रिहा भएका छन्।
उच्च अदालत पाटनले फागुन २० गते अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको थियो। केही दिनपछि धरौटी बुझाएर उनी तारिकमा रिहा भएका हुन्।
'केही दिनपछि जायजेथो बुझाएर उहाँ रिहा हुनुभएको छ,' उच्च अदालतका कर्मचारी अमृता शर्माले भनिन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स भएको उजुरी परेपछि अग्रवाललाई पक्राउ गरेको थियो। काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइन सञ्चालक अग्रवाल सागर डिष्टिलरी र कोभिडका कारण उधारो उठ्न नसकेपछि आर्थिक संकटमा परेका थिए।
बैंकको मात्रै झण्डै एक अर्ब ऋण लिएका अग्रवाल परिवारसहित सम्पर्कविहीन भएका थिए। झण्डै एक महिनापछि ऋण मिलाउन सक्ने भन्दै अग्रवाल नेपाल फर्किएका थिए। तर, अग्रवाल नेपाल आएलगत्तै चेक बाउन्स भएको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनका भाइ अभिषेक अग्रवाल भने अझै फरार रहेका छन्। एउटै मुद्दा अमित र अभिषेशकलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा बुझाइएको छ। लगाउ मुद्दा बनाएर अभिषेकलाई पनि प्रतिवादी बनाइएको छ।
सञ्जय अधिकारी र टंक शम्शेर जबराले चेक बाउन्स भएको उजुरी दिएका थिए। सञ्जयको ५० लाख र टंकशम्शेर जबराको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको थियो। ग्रीनलाइनको चेक बाउन्स भएपछि गण्डकी प्रदेशका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले पनि प्रहरीकहाँ उजुरी गरेका थिए। उनले रक्सी बिक्रीको रकम नपाएको र चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए। रकम नपाए आफूले सप्लाइ गरेको रक्सी फिर्ता पाउँ भन्दै उनले आग्रह गरेका थिए।