PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ओलीको सभामा करिश्मा मुसुक्क, भाषण गर्दा नेताको नामै भुसुक्क !



प्रकाश भण्डारी

ओलीको सभामा करिश्मा मुसुक्क, भाषण गर्दा नेताको नामै भुसुक्क !

काठमाडौं : नेकपा एमालेको पछिल्ला सभाका केन्द्रमा रहँदै आएकी छिन् अभिनेत्री करिश्मा मानन्धर। पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा अभिनेत्री मानन्धरलाई भित्र्याएपछि उनी धेरैजसो कार्यक्रममा वक्ताकै रुपमा उपस्थित हुन थालेकी छिन्। त्यही क्रम आज पनि दोहरियो।

अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानसहित देश दौडाहामा छन्। र, उनको अभियानमा साथ दिइरहेकी छिन् मानन्धरले। चैत ८ गते एमाले प्रवेश गरेकी मानन्धर त्यसयता धेरैजसो समय ओलीसँगै देखिन थालेकी हुन्।

चुनावमा एमालेकी करिश्मा

सोमावार ओली र मानन्धर कपिलबस्तुमा आयोजित सभामा सँगै थिए। मंगलवार ओली-मानन्धर रुपन्देही पुगेका हुन्। करिश्माले कपिलबस्तुमा आयोजित कार्यक्रममा खचाखच भरिएका कार्यर्तालाई सम्बोधन पनि गरिन्। एमालेको कार्यक्रममा सहभागी हुन त कार्यकर्ता आएका थिए नै। साथमा चर्चित नायिका मानन्धरको क्रेज पनि लोभलाग्दै थियो। करिश्माले एमाले युवाहरुलाई अवसर दिने पार्टी भएको दाबी गर्न भ्याइन्। एमाले नेताहरुलाई देखेर आफू प्रभावित भएको मानन्धरको भनाइ थियो। चुनावी अभियानमा दौडिरहेकी मानन्धरले फिल्मको चाहिँ कुरा उप्काइनन्। त्यसैले उनले सोझै भनिन्, 'हजुरहरु पनि एमाले बन्नुस्। आइ एम क्वाइट इम्प्रेस्ड। यो मञ्चमा म एकदमै नयाँ मान्छे।'

ओली-करिश्माको राजनीतिक केमेस्ट्री

हुन् त करिश्मा राजनीतिमा नयाँ भने होइनन्। यसअघि तत्कालीन नयाँ शक्ति पार्टीमा पनि उनले 'इन्ट्री' गरेकी थिइन्। त्यतिबेला डा. बाबुराम भट्टराईबाट प्रभावित मानन्धर पछिल्लो समय ओलीलाई पच्छ्याइरहेकी छिन्। केही समय भट्टराईसँग जमेकी मानन्धर अहिले ओलीसँगको राजनीतिक 'केमेस्ट्री' मिलाउने दाउमा छिन्।

करिश्मालाई एमालेमा स्वागत गर्दै ओली


ओलीले पनि करिश्माको पर्याप्त प्रशंसा गरिरहेका छन् सबैतिर।असोज २ मा कक्षा १२ को परीक्षा दिइरहेकी मानन्धलाई ओली आफैले फोन गरेर परीक्षाबारे जिज्ञासा राखेका थिए। त्यसयता ओलीसँग लगातार संवादमा थिइन उनी। उनले पार्टी प्रवेश अघि पनि ओलीलाई बालकोटमै पुगेर भेटेकी थिइन्। पार्टी प्रवेशकै दिन ओलीले एमाले कलाकारहरुको पनि पार्टी भएको भन्दै कलाकारहरुलाई प्रवेश गर्न उक्साएका थिए।

पाको उमेरमा पनि ओली सक्रिए देखेर आफू निकै उत्साही हुने गरेकी करिश्मा बताउँछिन्। एमालेमा 'इन्ट्री' मारेकै दिन उनले एमालेका अरु नेतालाई सम्झाउँदै आफू पदका लागि नआएको दाबी गरेकी थिइन्। तर, पार्टीले मूल्याङ्कन गरेर पद दिएमा जिम्मेवारी निभाउन तयार भएको सन्देश दिन पनि उनी पछि परिनन्। त्यसो त गायिका कोमल वली एमालेमा प्रवेश गरेपछि राष्ट्रिय सभाको उम्मेद्वार बनेकी थिइन्। मानन्धर पनि अब हुने संघीय निर्वाचनबाट एमालेको सांसद हुने चर्चा छ।

भाषणमा चाहिँ अलमल

ओलीको गुणगान गाउने करिश्मा भाषण गर्दा भने लरबरिइन्। हुन त उनले एमाले प्रवेश कार्यक्रमका दिन पनि फिल्म सुटिङबाट सोझै आएको र फेरि काममा जान थालेको बताएकी थिइन्।

पार्टी प्रवेश कार्यक्रममा करिश्मा


उनलाई अघि सारेर एमालेले चुनावी अभियानलाई प्रभावकारी बनाउने रणनीति बनाइरहेको छ। तर, फिल्म अभिनय गर्न जति करिश्मालाई सहज छ त्यति राजनीतिमा भने देखिन्न। कारण उनी सोमवारको कार्यक्रममा पनि लरबरिइन्। मञ्चमा राजनीतिक भाषण गर्नु परेपछि उनलाई कतिसम्म सकस पर्‍यो भने आफू कार्यकर्ता भएको पार्टीको शीर्ष नेताको नाम नै बिर्सिइन्। लरबराइरहेकी करिश्माले सहभागीलाई बरु कलाकारले दिने प्रस्तुतीमा जस्तै 'तपाईँ कति राम्रो देखिएको' भन्न भ्याइन्।

भुलिन् विष्णु पौडेल र इश्वर पोख्रेलको पद

भाषण गर्दा नेता विष्णु पौडेल र इश्वर पोखरेलको पद नै बिर्सिन मानन्धरले। उनले पौडेललाई वरिष्ठ उपाध्यक्ष भनिन् भने पोखरेललाई वरिष्ठ महा सचिव। जब कि पौडेल एमालेका १० औं महधिवेशनबाट उपाध्यक्षमा चयन भएका थिए भने पोखरेल वरिष्ठ उपाध्यक्ष।

सोमवारको कार्यक्रममा सम्बोधन गर्दै करिश्मा


अरु नेताको नाम भुलेकी मानन्धरले ओली जिन्दावाद भन्न भने भ्याइन्। भनिन्, 'नेताहरुको पछिपछि लागेर यहाँ आएको। नेकपा एमाले जिन्दावाद। केपी शर्मा ओली जिन्दावाद। भोट के मा? सूर्यमा।'

नेताहरुसँग मञ्चमा देखिएकी मानन्धरले राजनीतिक भाषण गर्न खोजे पनि त्यति सफल भइनन्। तर, उनले जाँदाजाँदै आफ्नो न्वारनको नाम भने खुलाइन - 'म मेरो एउटा कुरा रिभेल गर्न चाहन्छु, मेरो न्वारनको नाम सूर्जे कुमारी हो है,' मानन्धरले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell