PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

घरघर पुगेर क्षतिपुर्ति दिँदै चितवन जिल्ला अदालत



पहिलोपोस्ट

घरघर पुगेर क्षतिपुर्ति दिँदै चितवन जिल्ला अदालत

काठमाडौं : चितवन जिल्ला अदालतले घरघरमै पुगेर क्षतिपूर्ति दिन सुरु गरेको छ। फैसला कार्यान्वयन तथा पीडितले क्षतिपूर्ति पाउन कठिन भएको बहस चलिरहँदा अदालतले घरमै पुगेर क्षतिपूर्ति दिन थालेको हो।

यसअघि पीडितले क्षतिपूर्ति पाउन प्रतिवादीको आर्थिक क्षमता वा जायजेथा देखाई अर्को निवेदन हाल्नुपर्ने बाध्यता थियो। चितवन जिल्ला अदालतका तहसिलदार पुरुषोत्तम पौडेलका अनुसार पीडितले पाउनुपर्ने क्षतिपूर्ति घरदैलोमा पुगेर भराउँदा क्षतिपूर्तिसहितको न्यायको अनुभूति हुने बताए।

गत चैत्र ९ गते पहिलोपटक घरमै गएर पीडितलाई क्षतिपूर्ति दिइएको उनले बताए। चितवन जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा गत माघ १० गतेको फैसलाले ठहर गरेको तीन लाख रुपैंया पीडकबाट क्षतिपूर्ति स्वरुप भराईएको थियो।

विगतमा पीडकलाई दण्ड हुँदा पीडितलाई उपेक्षा गरेको भएपनि पीडित न्याय प्रणाली र क्षतिपूर्तिको अवधारणाले पीडितलाई सामाजिकीकरणमा मद्दत पुग्न सक्ने चितवन जिल्ला अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताए।

चितवन जिल्ला अदालतमा प्रतिवादीबाट विभिन्न मुद्दाहरूमा १ करोड ६७ लाख ५० हजार ७ सय २८ रुपैयाँ भराउनुपर्ने ठहर भएको छ । तर प्रतिवादीहरूबाट दाखिला भएको रकम १९ लाख ९५ हजार ९ सय ५० रुपैयाँ मात्रै रहेको तहसिलदार पौडेलले जानकारी दिए । तीमध्ये क्षतिपूर्ति लिने बुझ्ने पीडितहरू झनै कम देखिएका छन् ।

अहिलेसम्म १५ लाख ७४ हजार रुपैयाँ मात्रै पीडितहरूलाई उपलब्ध गराइएको छ । मुद्दा फैसला भयो या भएन, भएको भए के भयो भन्ने पीडितहरूले जानकारी नलिँदा यस्तो अवस्था आएको उनले बताए। अब अदालत क्षतिपुर्ति भराउन आफैंले प्रयास गरेर भुक्तानी दिन सुरु गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell