PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सर्वसाधारणका लागि खुल्यो हनुमानढोकामा रहेको गद्दी बैठक

सर्वसाधारणका लागि खुल्यो हनुमानढोकामा रहेको गद्दी बैठक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : हनुमानढोका दरबार संग्रहालय अन्तर्गत रहेको गद्दी बैठक औपचारिक रुपमा सर्वसाधरणका लागि खुला भएको छ। आज एक कार्यक्रमबिच गद्दी बैठक कक्ष सर्वसाधरणका लागि खोलिएको हो। पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बैठक कक्षको आज शुभारम्भ गरेका हुन् 

गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी गरिएको छ। गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिएका छन्।

प्रदर्शनीमा नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटनाक्रमका तस्वीरको प्रतिलिपि राखिएको छ। प्रदर्शनीले त्यसबेलाको अवस्था जान्न सहयोग गर्ने विश्वास गरिएको छ।

संग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिइएको छ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो। भूकम्पसँगै बन्द रहेको गद्दी बैठक सात वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell