PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

संकटालाई हराउँदै वाग्मती सिमरा गोल्डकपको सेमिफाइनलमा, दुबै प्रशिक्षकलाई रेड कार्ड



पहिलोपोस्ट

संकटालाई हराउँदै वाग्मती सिमरा गोल्डकपको सेमिफाइनलमा, दुबै प्रशिक्षकलाई रेड कार्ड

वीरगंजः साविक विजेता संकटा क्लबमाथि रोमाञ्चक जित हात पार्दै वाग्मती युवा क्लब १२औँ जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सिमरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा वाग्मतीले संकटामाथि १-० को जित निकालेको हो। वाग्मतीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ।

वाग्मतीले अब फाइनल प्रवेशका लागि एपिएफ क्लबसँग खेल्नेछ।

प्रतिस्पर्धात्मक खेलमा वाग्मतीले संकटामाथि अतिरिक्त समयमा गोल गरेको हो। अतिरिक्त समयको २७औँ मिनेटमा वाग्मतीका लागि अनिल राना मगरले गोल गरेका हुन्।

अधिकांश समय बल नियन्त्रणमा लिएको संकटाले पहिलो हाफमा बनाएको केही अवसर गुमायो। खेलको ३५औँ मिनेटमा फोडे फोफनाको क्रसमा संकटाका दिपेश आले मगरले राम्रो अवसर खेर फाले। डिबक्सभित्र फोफनाले मिलाएको पासलाई दिपेशले नियन्त्रणमा लिन नसक्दा प्रहार सशक्त हुन सकेन।

प्रतिस्पर्धात्मक पहिलो हाफको ईन्जुरी समयमा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए। खेलाडीबीचको विवादमा अपशब्द प्रयोग गरेको भन्दै रेफ्री प्रकाशनाथ श्रेष्ठले दुवै टिमका प्रशिक्षकलाई प्लेयरबक्स बाहिर पठाएका थिए।

प्रतियोगिता अन्तर्गत बुधबार एनआरटी क्लब र आयोजक नवजनजागृति युवा क्लबबीच पहिलो सेमिफाइनल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell