काठमाडौं : फसिकेबका प्रज्वलमान श्रेष्ठ सधैं कौतुहलमा हुन्थे - कुन फिल्म आउला? नेपालमा वर्षमा मुस्किलले एक दुई फिल्म बने पनि भारतीय फिल्मका रिलहरु ढिलैगरी भए पनि नेपाल भित्रिन्थे। तिनैको प्रतीक्षमा हुन्थे उनी। नयाँ फिल्म लाग्यो कि उनी फिल्म हलमा पुग्थे। कहिले टिकट मिल्थ्यो त कहिले लाइन लामो हुँदै भइसक्थ्यो बन्द। अनि सुरु हुन्थ्यो ब्ल्याकमा मोलमोलाइ। महँगोमा किनेरै पनि फिल्म हेर्ने हुटहुटी मेट्थे उनी।
‘घरदेखि हल नजिक थियो। स्कुल छुट्टी भएपछि छिटोछिटो होमवर्क सकेर फिल्म हेर्न दौडिहाल्थेँ,' बालपन सम्झिए उनले, '१५/३० मिनेट बाँकी हुँदा पनि फिल्म हेर्न छिर्थेँ। अन्तिम फाइट हेर्न निकै रमाइलो हुन्थ्यो।’
पहिला रञ्जना हल रहेको स्थानमा बनेको सपिङ सेन्टर। अहिले यही सेन्टरमा रञ्जना सिनेप्लेक्स खुलेको छ।
घर नजिकको त्यो फिल्म हल पछि बन्द हुँदा कम्ता नमज्जा लागेन उनलाई। बाल्यकालको रंगीन पर्दासँग जोडिएको आयामहरु सम्झिँदा पनि दङ्ग पर्छन् प्रज्वलमान। टिकटघर अगाडि थेगिनसक्नु भिड। ब्ल्याक गर्नेको बिगबिगी। तिनलाई लखेट्न लठ्ठी लिँदै दौडिरहेका प्रहरी...। स्मृतिमा झल्झली छन् अझै।
फसिकेबमा रहेको फिल्म हल रञ्जनाको सन्दर्भ कोट्याइरहेका छन् उनी। फिल्म हलभित्र एउटा सानो मन्दिर थियो कुमारीको। हलभित्र पुग्ने बित्तिकै प्रज्वल पनि कुमारीलाई ढोग्थे। फिल्म प्रदर्शनको बेलामा पनि पुजारीले मन्दिरमा पुजा गरेको र बजाएको घन्टीको धुन गुन्जिन्छ उनको कानमा।
प्रज्वलमान श्रेष्ठ।
+++
बालकैमा फिल्म हेर्न जाने गरेको रञ्जना हलमा कुनै दिन आफ्नै फिल्म रिलिज हुने सोचेका थिएनन् सुनिलकुमार थापाले। २७ वर्षअघि थापाको फिल्म 'धर्म संकट' यहीँ हलबाट रिलिज भयो। नेपाली फिल्म उद्योगमा उनको डेब्यु रञ्जना हलमा प्रदर्शन भएको फिल्मबाटै हुनुले पनि उनलाई रोमाञ्चित गरायो। त्यसको खास कारण थियो।
याद छैन, चार या पाँच कक्षामा पढ्दा उनी पहिलो पटक फिल्म हेर्न आएका थिए यही हलमा। साथमा थिइन् आमा। फिल्म चाहिँ ‘कुसुमे रूमाल’।
‘आमासँग फिल्म हेर्न पहिलो पटक आएको। आमाको सारी बेरिएको, मान्छेले थिचेको र रुवाबासी गरेको म कहिल्यै बिर्सन सक्दिनँ,' उनले रञ्जना हललाई सम्झिए, 'पुरानो रञ्जना हल अगाडि ठूलो प्राङ्गण थियो। त्यहीँ टिकट काट्नेको भिड हुन्थ्यो। ती कुराहरू खुब याद आइरहेको छ।’
पहिलो पटक ठूलो पर्दामा फिल्म हेरेको र आफ्नै फिल्म रिलिज भएको हल बन्द हुँदा थापाको मनमा निकै चिसो पसेको थियो।
+++
नेपालमा मल्टिप्लेक्सको दबदबा बढ्दै थियो। सिंगल थिएटरको युग अवसानको बाटोतिर लाग्दै थियो। र, त्यसैको क्रममा रञ्जना हल पनि बन्द हुन पुग्यो २०६५ सालमा। व्यापारका कारण न्युरोड पहिलेदेखि नै नामुद थियो। त्यहाँ जति अग्ला र विशाल भवन बनाए पनि बढ्दो कारोबारले साँघुरो नै हुने। त्यसैले रञ्जना फेरि ब्युतिँने तयारीमा थियो - रञ्जना ट्रेड सेन्टरका नाममा। हो, त्यही ट्रेड सेन्टरमा अहिले एकबाट तीन पर्दामा स्थापित भएको छ रञ्जना सिनेप्लेक्स। नरेन्द्र महर्जनले व्यवसायीहरु कालु गुरुङ र वीरेन्द्र नारायण महर्जनसँग मिलेरे रञ्जना सिनेप्लेक्स सञ्चालनमा ल्याएका हुन्।
पुरानो रञ्जना हलको नाममा नै अत्याधुनिक हल सञ्चालनमा ल्याएको महर्जनले जानकारी दिए। सिनेमा प्रोजेक्सनलाई स्तरीय बनाउन 'फोर के' प्रोजेक्सन राखिएको छ अहिलेको रञ्जनामा।
महर्जनका अनुसार रञ्जनाको ३ वटा अडिटोरियममा ५३१ जनाले एकै पटक फिल्म हेर्न सक्छन्। एलडब्ल्यु साउण्ड र थ्रिडी सिस्टम पनि समावेश छ, नयाँ रञ्जनाको विशेषतामा।
'हामीले पुरानै हलको नाम दिएर रञ्जना हलको इतिहास राख्न खोजेका हौँ। पहिले एउटामात्रै हल थियो, अहिले भने तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न हलहरू बनाएका छौँ,' महर्जनले भने।
त्यसैगरि, रञ्जना हलमा डल्बी एटमस साउण्ड सिस्टम र एल डब्लु (लुइस वास्म्यान) स्पिकर पनि जडान गरिएको छ। स्पेनबाट ल्याइएको एल डब्लु नेपाली सिनेमाहमा पहिलोपटक प्रयोग गरिएकोसमेत उनले दाबी गरे। हलमा विश्वस्तरीय थ्रिडि सिस्टमसमेत रहेको महर्जनले बताए। दर्शकको सुविधाका लागि छुट्टै पार्किङको व्यवस्थन गरिनेसमेत उनले बताए।
रञ्जना हलको व्यवस्थापन अहिले कुमार विनोद पौड्यालले गर्छन्। फिल्म हल व्यवस्थापन र अभिनयमा पनि उनको दख्खल छ। उनले पनि देखेका छन् पुरानो रञ्जनाको क्रेज। टिकट काट्दा भिडमा ठेलाठेल भएर हातमा घाउ भएको सन्दर्भहरु पनि उनको स्मृतिमा छ। 'रञ्जनासँगको मनैदेखिको नाता छ। हिन्दीलगायत नेपाली थुप्रै फिल्महरू हेरेको छु,’ पौडेलले सुनाए।
पुरानो हल भत्किएपछि पनि रञ्जना ट्रेड सेन्टरभित्र कुमारीको मन्दिर फेरि स्थापना गरिएको छ।
+++
रञ्जना नेपालका पुरानो फिल्म हलमध्येको एक थियो। त्यसो त पहिलो फिल्म हल जनसेवा सिनेमा हल हो जुन २०११ सालमा खुलेको थियो। त्यसको ३ वर्षपछि २०१४ सालमा न्युरोडमा ‘रञ्जना हल’ खुलेको हो। प्रजातन्त्र प्राप्तिपछि उदार बन्दै गएको कान्तिपुर शहर रंगीन दुनियाँसँग तीब्र रुपमा साक्षत्कार गर्न तम्तयार थियो। र, रञ्जन हल जन्मिएको वर्ष जय नेपाल सिनेमाघर र विश्वज्योति हल काठमाडौंमा खुले। पाटनमा अशोक र भक्तपुरमा नवदुर्गा हल पनि सञ्चालनमा आए।
त्यतिखेर रञ्जना हललाई सञ्चालनमा ल्याएका थिए बालकृष्ण श्रेष्ठले। हलमा पहिलोपटक हिन्दी फिल्म ‘भाइभाइ’ प्रदर्शन गरिएको थियो। फिल्म हेर्न लाग्ने टिकट शुल्क न्युनतम २५ पैसा थियो।
कलाकार मदनकृष्ण श्रेष्ठ रञ्जना हलसँगै हुर्किएको स्मरण गर्छन्। फसिकेबमा मदनकृष्णको ठूली फुपूको घर। सानो छँदा उनी फुपूकै घरमा बस्ने। त्यहीँ बन्दै थियो रञ्जना। उनी आफ्ना भाइ र साथीहरूसँग खेल्ने ठाउँ थियो त्यो। रञ्जना हल बनाउँदा ल्याएका इँट्टाको गाडी बनाएर खेल्थे उनीहरु।
उनलाई यसरी रमाउने सुविधा हुनुमा रञ्जनाका साहुजी बालकृष्ण श्रेष्ठ नाताले ठूला'बा। सर्वसाधारणका लागि प्रवेश सुरु हुनुअघि नै उनी हलभित्र पुगेको याद गर्छन्।
मदनकृष्ण दिनहुँजसो नै रञ्जना हल पुग्थे फिल्म हेर्न। ‘सानो छँदा पैसा नहुने। गेटकिपर दाइ कुर्चीमा बस्नु हुन्थ्यो,' उनले भने, 'उहाँको आँखा झुम्म र टाउको तल भएको बेला हामी घुर्र हलभित्र जान्थ्यौँ। हलभित्र आएर टिकट माग्दा म ठूलाबाले पठाएको भन्थेँ। कहिले त बालकुमारी आमाले।'
२०१८ सालमा जनसेवा सिनेमा हलमा आगो लाग्यो। त्यसपछि त्यो हल ब्युँतिएन। त्यसको असर न्युरोडको रञ्जना हल अझै मौलाउने अवसर बनेको सम्झिन्छन् मदनकृष्ण। रञ्जनामा हिन्दीका अलावा पञ्चायतलाई प्रवर्द्धन गर्न बनेका नेपाली फिल्महरु ‘आमा’, ‘परिवर्तन’, 'हिजो आज भोलि' जस्ता धेरै फिल्महरू हेरेको सम्झिन्छन् उनी।
श्रेष्ठका अनुसार रञ्जना हल अरू हलभन्दा चिटिक्क थियो। ‘रञ्जना हल आकर्षक र चिटिक्क थियो। हलको नाम ठूलो अक्षरमा लेखिएको थियो,' पुरानो रञ्जनलाई उनले सम्झिए, 'ती अक्षरहरूमा बत्तीहरू बल्थे। घरी बल्ने, घरी निभ्ने। ती झिलीमिली बत्तीहरू हेर्न खुब रमाइलो हुन्थ्यो। पहिलो पटक टेलिफोन पनि मैले रञ्जना हलभित्र नै देखेको हुँ।'
यिनै कुरा थिए जसले मदनकृष्णलाई हल असाध्यै मनपर्यो। आफ्नै आँखा अगाडि जन्मेको रञ्जना हललाई उनी साथी झै मान्थे। र, नेपाली सिने जगतमा ठूलो योगदान पुगेको ठान्छन् अहिले पनि।
उनका अनुसार रञ्जना लिपिबाटै हलको नामाकरण भएको हो। ११ औं शताब्दीतिर यो लिपि प्रादुर्भाव र पछि विकसित भएको मानिन्छ। नेपालभरका मन्दिर, स्तुप र चैत्यहरुमा रञ्जना लिपिको प्रयोग भएको पाइन्छ। चीनमा रहेका मन्दिर , स्तुपका साथै १७ औं शताब्दीमा चीनको छ्वान राज्यको राजाको मुकुटमा समेत रञ्जना लिपिबाट 'ॐ मणिपद्यमे हूँ' भनेर लेखिएको छ। यस्तै, 'ग्रेट वाल अफ चाइना' मा समेत रञ्जना लिपिको प्रयोग भएको पाइन्छ।
तर, पछि हल बन्द हुँदा उनलाई नमिठो अनुभूति भयो। बालापनको हल मेटिएर सपिङ मलमा फेरियो। रञ्जनाकै नाममा सोही ठाउँमा हल खुल्दा खुसी सुनिए उनी।
कलाकार नीर शाह पनि रञ्जना हलका नियमित दर्शक अनि कलाकार पनि। रञ्जना हल अरूभन्दा आधुनिक। 'त्यति बेलाका अरु हलभन्दा रञ्जना आधुनिक थियो। ग्राउन्ड पनि ठूलो थियो। त्यहाँ कफीहरू बिक्री हुन्थ्यो,' शाहले सुनाए, 'रञ्जना हल धेरै समकालीन साथीहरूको सम्झना गराउने सिनेमा हल पनि हो।’
के रञ्जनको पुरानो बिरासत रञ्जन सिनेप्लेक्समा रुपान्तरित भएपछि पनि फर्किएला?