111.jpg)
काठमाडौं : विदेशबाट ल्याएको सुन व्यवसायीहरुले बैंकबाट नउठाएपछि बैंकर्स संघले आयातका लागि नयाँ सिफारिस बन्द गरेको छ।
रुस र युक्रेनको युद्धको असरले अन्य क्षेत्र प्रभावित बन्दा सुनमा मुद्रास्फीति तथा लगानी सुरक्षा (हेजिङ अगेन्स्ट इन्फ्लेशन) खोज्नेक्रम अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा बढेको छ। यसले गर्दा पछिल्लो समय सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा नै उक्लिरहेको छ। यसैको प्रभाव स्वरुप नेपालमा पनि अहिले सुन प्रतितोला एक लाख रुपैयाँ हाराहारीमा छ। घटेको अवस्थामा पनि ९८ हजार रुपैयाँभन्दा तल आउन सकेको छैन।
यसरी अन्तर्राष्ट्रिय बजारको मूल्य चापले नेपाली बजारमा पनि सुनको मूल्य लगातार बढिरहँदा खरिदकर्ताहरु 'घटेपछि मात्रै किन्ने' भन्दै बस्न थालेका छन्। यही कारण यति बेला सुनको बिक्री अति न्यून रहेको व्यवसायीले बताएका छन्।
चैत लागेपछि सुन कारोबारका लागि त्यसै पनि अफ-सिजन हो। तर, ग्राहकले किनबेच नगरे पनि सुनचाँदी व्यवसायीहरुले बैंकबाट ठूलो परिमाणमा खरिद गरी वैशाखबाट सुरु हुने बिहेको सिजनका लागि भनेर स्टक राख्ने गर्छन्। तर अहिले सुनचाँदी व्यवसायीहरु मूल्य अझै घट्ने अनुमानमा सुन खरिद नगरी बस्न थालेका छन्।
यस्तै, त्यसै पनि मुख्य विदेशी मुद्रा 'अमेरिकी डलर'को मौज्दात घट्दै गएको छ भने अर्कोतिर यसको विनिमय दर नेपाली मुद्राको तुलनामा महँगिदै गएको छ। यो परिदृष्यलाई दृष्टिगत गरेर सरकारले आयात कोटा ५० प्रतिशतले घटाइदिएको थियो।
आयातको कोटा मात्र नघटेर व्यवसायीहरुले बैंकबाट सुन लिने क्रम नै घटेको छ। 'एक महिनादेखि बैंकबाट सुन कम परिमाणमा उठेको छ,' बैंकर्स संघकी कर्मचारी सुबिना श्रेष्ठले भनिन्, 'यतिबेला बैंकमा १६४ केजीजति सुन स्टकमा छ।'
चैतको सुरुमा करिब २२.५ केजी सुन मौज्दात थियो। श्रेष्ठका अनुसार, एक सातामा जम्मा ३८ केजी सुन मात्र बिक्री भएको छ।
बैंकर्स संघले सिफारिस दिएपछि बेंकहरुले कोटाअनुसार दुबईबाट सुन आयात गर्छन्। ल्याएपछि सुनचाँदी व्यवसायी महासंघको समन्वयमा बिक्रीवितरण हुन्छ। आयातित सुनमा ६० प्रतिशत उपत्यकाका व्यवसायीले उठाउँछन् भने ४० प्रतिशत बाहिरी जिल्लाका व्यवसायीले लैजाने गरेका छन्।
पछिल्लो एक महिनायता आयातित सुन बिक्री नै नभएको भने होइन। व्यवसायीले उठाउने परिमाण घटेको हो। सुन व्यवसायीले लैजान क्रम सुस्त भएपछि यो अवस्थालाई ध्यानमा राखेर एसोसिएसनले सुन आयात गर्न सिफारिस पत्र नदिएको श्रेष्ठको भनाइ छ।
बैंकसँगै सुन मौज्दातमा रहँदै गएपछि संघले गत फागुन १८ बाट नै सिफारिस दिन रोकेको छ। व्यवसायीहरुले ठूलो परिमाणमा सुन खरिद नगरेपछि बैंकले नै सिफारिस मागेको छैन।सुनको स्टक घटेपछि मात्र बैंकहरुले सुन आयात गर्ने भएका हुन्। अब वैशाखबाट विवाहको सिजन सुरु भएपछि सुनको खपत बढ्नेछ। त्यतिबेला भने बैंकले सिफारिस माग्न थाल्न सक्ने एसोसिएसनले जनाएको छ।
सुनचाँदी व्यवसायीहरुले भने सुनको मूल्य बढेर नै खरिद गर्न नसकेको बताएका छन्। गत महिनासम्म व्यवसायीले तोलाको ९५ हजारसम्ममा खरिद गर्दै आएका थिए। तर केही समयदेखि ९९ हजारभन्दा तल घट्ने अवस्था देखिएको छैन।
'तोलाको एक लाख पर्ने सुन खरिद गरेर स्टक राख्न कहाँ सकिन्छ?,' सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मभक्त बज्राचार्यले भने, 'व्यवसायीहरु भाउ घट्छ कि भनेर बसिरहेका छन्। अहिले कारोबार पनि सुस्त छ।'
मूल्य नघट्दा वैशाखका लागि पनि अर्डर नआएको व्यवसायीले बताएका छन्। गत वैशाखको लागि एक महिना अघिबाटै सुनको गहना बनाउन अर्डर आएका थिए। अहिले व्यवसायीसँगै ग्राहकहरु पनि पर्ख र हेरको अवस्थामा छन्। यस्तै अवस्था रहिरहे सिजनमा पनि सुन किनबेच परिमाण कम रहने बज्राचार्यले भने।
'एक लाख तोलाको सुन धेरै किन्न सकिँदैन। ग्राहकले कामचलाउ लागि मात्र सुन किन्न थालेका छन्। अहिले पनि आवश्यक पर्ने ग्राहकले मात्र सुन खरिद गरिरहेका छन्। यसकारण नै बजारमा सुनको कारोबार सुस्त भएको छ,' उनी भन्छन्।
पहिले दिनको २० देखि २५ केजीसम्म खपत हुने गरेको थियो। हाल कति निकै कम परिमाणमा सुन खरिद हुने भएकोले अनुमान लगाउन नसकिएको बज्राचार्यले बताए।