
काठमाडौं : नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले मलेसियालाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले ६ विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङ उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
पहिलो बलमै विरनदीप सिंहलाई गुमाएको मलेसियाका लागि अर्का ओपनर जुबैदी जुलकिफ्लेले सर्वाधिक ३२ रन बनाए। त्यस्तै कप्तान अहमेद फैजले २४ रन बनाउँदा सइद अजिजले १४ तथा मोहम्मद अमिरले १६ रन जोडे।
बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिँदा अभिनास बोहोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ओपनर कुशल भुर्तेललाई १ रनमै गुमाए पनि अर्का अर्का ओपनर आशिफ शेखले अर्धशतकीय पारि खेल्दै नेपालको स्कोर उकासे। उनले ३८ बलमा १ छक्का र ७ चौकाको सहायतामा ५७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २१ र रोहित पौडेलले १२ रन बनाए। त्यस्तै दीलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे।
यो सँगै नेपालले सिरिजमा लगातार दोस्रो जित निकालेको छ। सिरिजको चौथो खेलमा नेपालले भोलि पीएनजीसँग खेल्ने छ। अर्कोतर्फ पहिलो खेलमा पीएनजीलाई हराएको मलेसिया आफ्नो दोस्रो खेलमा पराजित भएको हो।