
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौं शिखर सम्मेलनले संगठनको बडापत्र अनुमोदन गरको छ।
भर्चुअल माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखले बडा पत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन गरेका हुन्। बडापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हस्ताक्षर गरेका छन्।
सम्मेलनले तीन नयाँ दस्तावेजलाई पनि अनुमोदन गरेको छ। कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र स्थापनासम्बन्धी संलग्नतापत्र’मा हस्ताक्षर गरेको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ।
त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय संगठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गरेका छन्।
तीन वर्षअघि काठमाडौँमा सम्पन्न चौथो शिखर सम्मेलनले बलियो बिम्स्टेक निर्माण गर्न बडापत्रको आवश्यकता, संगठनको पुनःसंरचना, संगठनको कार्यक्षेत्र र उपक्षेत्र निर्धारण तथा सचिवालयलाई बलियो बनाउने आधारशिला निर्माणका निम्ति आह्वान गरेको थियो।