PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

के पूर्व डीआईजी रमेश खरेलले काठमाडौंको मेयरमा उम्मेद्वारी दिन लागेका हुन्?



पहिलोपोस्ट

के पूर्व डीआईजी रमेश खरेलले काठमाडौंको मेयरमा उम्मेद्वारी दिन लागेका हुन्?

काठमाडौं : पूर्व डीआईजी रमेश खरेल स्थानीय तहको निर्वाचनमा उम्मेद्वार भएर उठ्ने तयारीमा जुटेका छन्। नेपाल प्रहरीबाट राजीनामा दिएपछि भ्रष्टचार विरुद्धको अभियान लिएर 'नेपाल सुशासन अभियान' थालेका खरेल अहिले नेपाल सुशासन पार्टीका अध्यक्ष पनि हुन्। उनी आफ्नै पार्टीबाट आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न लागेका हुन्।

'उम्मेद्वार नै घोषणा गर्ने निर्णय भइसकेको छैन। तयारी भने गरिरहेको छु। अहिले नै यसै भन्ने अवस्था भने छैन,' पूर्व डीआईजी खरेलले भने।

सरकारले डीआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि २०७४ चैत २८ गते खरेलले राजीनामा दिएका थिए। खरेल २०४५ सालमा भलिबल खेलाडीका रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। उनले पूर्व आईजी सर्वेन्द्र खनाल र पूर्व एआईजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते प्रहरी निरीक्षकको परीक्षा उतीर्ण गरेका थिए। राजनीतिक रुपमा सरकारले महानिरीक्षक छानेको भन्दै उनले राजीनामा गरेका थिए।

राजीनामा दिएको केही समय उनी कतै सक्रिय रहेनन्। भ्रष्टाचार संस्थागत रुपमा मौलाएको भन्दै २०७६ फागुन २९ गते पूर्व डीआईजी खरेलको संयोजकत्वमा 'हाम्रो नेपाल सुशासन अभियान' शुरु भएको थियो। निर्वाचन आयोगमा पार्टी नै दर्ता गरेपछि खरेल तराईका जिल्लामा दौडधुपमा लागेका थिए। तराईका जिल्लामा प्रहरी प्रमुख हुँदा गरेका कामले पनि खरेल दबंग छवि भएका प्रहरी अफिसरका रुपमा चिनिएका थिए। उनी काठमाडौं महानगरपालिकाको मेयरबाट उम्मेद्वारी दिने तयारीमा जुटेका हुन्।

'पार्टी र पार्टी बाहिरका साथीहरुले पनि उम्मेद्वारी दिँदा हुन्छ भनेकाले पनि उम्मेद्वारी दिने भन्ने विषयमा छलफलमा जुटेको छु,' पूर्व डीआईजी खरेलले भने।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ। निर्वाचन आयोग अहिले निर्वाचनको तयारीमा जुटेको छ। केही स्थानीय तहमा आकांक्षी उम्मेदवारले आफूलाई प्रस्तुत गर्न थालेका छन्। त्यही क्रममा पूर्व डीआईजी खरेल पनि चर्चामा आएका हुन्। काठमाडौं महानगरपालिकाको निर्वाचन चर्चा केन्द्रमा छ। ठूला राजनीतिक दलले कसलाई उम्मेदवार बनाउन भन्ने टुङ्गो लगाउन सकेका छैनन् यहाँका लागि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell