काठमाडौं: नेपाली क्रिकेट टोलीले आज मलेसियामाथि जित निकाल्दै त्रिदेशीय क्रिकेट सिरिजमा लगातार दोस्रो जित निकाल्यो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जित निकाल्दा कप्तान सन्दीप लामिछाने मख्ख सुनिए।
बलरहरुको उत्कृष्ट प्रदर्शन र ब्याटिङमा पनि राम्रो खेल हुँदा सहज जित निकाल्न सकिएको उनले बताए।
'आज सहज जित बनाएको हो। सबै बलरहरुले सुरुबाटै विकेटहरु पाइरहनु भएको थियो। विकेट पनि अलि सुख्खा हुनाले बलहरु स्टक भइरहेको थियो बीचबीचमा जसले गर्दा ब्याटिङ गर्न धेरै सजिलो थिएन तर चुनौतीपूर्ण पनि थिएन,' उनले भने, 'जितको श्रेय बलरहरुलाई जान्छ जसले उत्कृष्ट प्रदर्शन गरे।'
नेपाली टोलीका लागि करण केसी मलेसियाका ओपनिङ ब्याट्सम्यान वीरनदीप सिंहलाई पहिलो बलमै आउट गराएका थिए। पीएनजी र मलेसियाबीचको खेलमा अविजित ५९ रन बनाएका उनलाई पहिलो बलमै आउट गर्नु नेपालका लागि बोनस प्वाइन्ट भएको लामिछानेले बताए।
'वीरनदीप सिंहले पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेकोमा उनको विकेट सुरुमै लिनु हाम्रो लागि बोनस प्वाइन्ट भयो। त्यसपछि पुरा पारि बलिङमा डोमिनेन्स रह्यो। १३ ओभरभित्रमा लक्ष्य पछ्याइसक्नु पनि राम्रो संकेत हो।' लामिछानेले भने।
ब्याटिङमा भने आजको खेलमा पनि ओपनरहरुले साझेदारी बनाउन सकेनन्। कुशल भुर्तेल एक रनमै पेभेलियन फर्कँदा अर्का ओपनर आशिफ खेलले भने अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५७ रन बनाए।
'आज योजना स्पस्ट थियो, जतिसक्दो छिटो खेललाई सकाउने। कुशलले पनि आफ्नो तर्फबाट प्रयास गरेको हो,' लामिछानेले भने, 'राम्रो सट खेल्न खोज्दा पनि कहिकाहीँ सोचेजस्तो हुँदैन। आज आशिफले पनि उत्कृष्ट पारि खेले। सकेसम्म हामी चारवटै म्याच जितेर फाइनल पुग्दै सिरिज जित्न चाहन्छौं।'
नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले मलेसियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकालेको थियो।
टस जितेर ब्याटिङ उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
नेपालले भोलि पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ।