इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले कोलकत्ता नाइटराइडर्सलाई ३ विकेटले हराएको छ।
मुम्बइस्थित डा डीवाइ पटिल स्पोर्ट्स एकेडेमीको मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले उत्कृष्ट सुरुवात गर्न सकेन। ओपनर अजिन्क्य रहाणेलाई ९ रनमा गुमाएको कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक २५ रन बनाउँदा उमेश यादवले १८, साम विलिङ्सले १४, कप्तान श्रेयस ऐय्यरले १३ तथा सुनिल नारेनले १२ रन बनाए। त्यस्तै वेङकटेस ऐय्यर, नितिश राना र वरुण चक्रवर्तीले समान १० रन बनाए।
बलिङतर्फ बेङ्ग्लोरका वानिन्दु डी सिल्भाले किफायती बलिङ गर्दा ४ विकेट लिए। त्यस्तै आकाश दीपले ३, हर्षल पटेलले २ र मोहम्मद सिराजले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरको ओपनिङ जम्न सकेन। कप्तान फाफ डुप्लिसिसलाई ५ रन तथा अनुज रावतलाई शुन्य रनमै गुमाएको बेङ्ग्लोरका लागि लागि शेरफेन रुथरफोर्डले सर्वाधिक २८ रन बनाउँदा शहबाज अहमेदले २७,डेभिड विलीले १८ र विराट कोहलीले १२ रन बनाए। त्यस्तै दिनेश कार्तिक १४ र हर्षल पटेल १० रनमा अविजित रहे।
बलिङतर्फ कोलकत्ताका टिम साउथीले सर्वाधिक ३ विकेट लिँदा उमेश यादवले २ तथा सुनिल नारेन र वरुण चक्रवर्तीले समान १ विकेट लिए।
जारी सिजन कोलकत्ताको यो पहिलो हार हो भने बेङ्ग्लोरको पहिलो जित हो। उद्घाटन खेलमा कोलकत्ताले चेन्नइ सुपर किंग्सलाई ६ विकेटले हराउँदै सुखद सुरुवात गरेको थियो। अर्कोतर्फ बेङ्ग्लोरले आफ्नो पहिलो खेलमा २०५ रनको विशाल लक्ष्य खडा गरेर पनि जोगाउन नसक्दा पन्जाब किंग्ससँग ५ विकेटको पराजय ब्यहोरेको थियो।
