PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

रुस - युक्रेन युद्धको असर : वीरगंजका तीन भन्सार नाकाबाट हुने तेल आयात घट्ने



राधेश्याम पटेल

रुस - युक्रेन युद्धको असर : वीरगंजका तीन भन्सार नाकाबाट हुने तेल आयात घट्ने

वीरगंज : झण्डै एक महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धको असर नेपालको व्यापारिक नाकामा पनि देखिने भएको छ। वीरगंज भन्सार कार्यालयहरुले वैशाखपछि प्रत्यक्ष रुपमा यस्तो असर देखिने जनाएका छन्।

वीरगंजमा रहेको वीरगंज भन्सारको पुरानो भन्सार नाका र आईसिपी नाका तथा वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकामा युद्धको प्रत्यक्ष असर पर्ने भन्सार अधिकारीहरुले विश्लेषण गरेका छन्।

युक्रेन र रुसबाट विशेषगरी प्रशोधित तेलको लागि सनफ्लावर, सोयाबिन,पाम कच्चा तेल (क्रुड आयल) मात्र आयात हुने भएकोले अहिले खासै असर नपरे पनि वैशाखपछि सम्भावित रुपमा असर पर्ने बताएका छन्।

‘अहिले खासै असर परेको छैन, पहिलेको अर्डरहरु आइरहेका छन्, तर नयाँ अर्डरहरुको लागि समस्या छ,’ वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाहका भन्सार अधिकृत गोपाल भण्डारीले भने, ‘अर्डर दिइसकेपछि नेपाल आउन करीब डेढ/दुई महिना समय लाग्छ, अर्थात वैशाखपछि माससमान आयातमा कटौती आउन सक्छ।’ जसले राजस्व संकलनमा पनि कमी ल्याउने छ।

यस्तै युक्रेनबाट तोरीको गेडा पनि आउने गरेकोले नेपाली बजारमा खानेतेलको भाउ आगामी दिनमा आकाशिने व्यवसायीहरुको प्रक्षेपण छ। नेपाली व्यवसायीहरुका अनुसार नेपालमा रुस–युक्रेन युद्ध लामो समयसम्म चलिरह्यो भने खानेतेलको भाउ लिटरमा ३५० भन्दा माथि जान सक्ने उनीहरुको दावी छ।

अहिले खाने तेलको थोक मूल्य करिब ३ सय देखि ३ सय ३० सम्म रुपैयाँको हाहारीमा छ। युद्धलाई लिएर अहिले नेपाल सरकारले भारत निकासी भइरहेको तेललाई समेत नियन्त्रण गरी स्वदेशमा खपतको लागि भण्डारण गर्नुपर्ने निर्देशन दिएको छ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल चामल दाल संघका राष्ट्रिय अध्यक्ष सुबोध गुप्ताले बारा, पर्सा करिडोरसँगै नेपालभरि करीब तीन दर्जन खाने तेल उद्योग सञ्चालनमा रहे तापनि भारत निकासीमा सरकारले नियन्त्रण गर्न भनेको जानकारी गराए।

आगामी दिनमा स्वदेशमै खाने तेलको चरम अभाव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले स्वदेशमै बल्कमा खाने तेल भण्डारण गरेर राख्न चाहेको उनले प्रष्ट पारे।

उनका अनुसार युद्ध लम्बिँदा कच्चा पदार्थको अभाव भइ यहाँका उत्पादन भारत निकासी भएको खण्डमा स्वदेशी मार्केटलाई अत्यावश्यक खानेतेलको अभाव हुन सक्ने सरकारको तर्क छ। विगत दुई वर्षदेखि भारत निकासी गरी मालामाल भएका तेल उद्योगहरु पछिल्लो समय आफ्नो क्षमता पनि विस्तार गरेका थिए।

नेपालबाट भारत जाने प्रशोधित तेलको मात्रा घट्यो

पर्सा, बारा करिडोरबाट उत्पादन भएर भारतको बिहार, युपी, झारखण्ड तथा अन्य राज्यमा निकासी हुने प्रशोधित तेल, सोयाबिन, पामोलिन तथा सनफ्लावर तेलको परिमाण दिन प्रतिदिन घट्दै छ।

फागुनको अन्त्यसम्म वीरगंज नाकाबाट दैनिक ३५/४० वटा गाडी मात्र गइरहेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए।

उनका अनुसार पहिले दुई महिना अगाडि वीरगंज नाकाबाट दैनिक ८० भन्दा बढी गाडीहरु रिफाइनरी आयल लिएर भारत निकासी हुन्थ्यो भने अहिले त्यो क्रम अहिले कम भएको हो।

एउटा गाडीमा २३ देखि २७ टन तेल निकासी हुन्छ। सडकमार्गबाट निकासी पछिल्लो समय कम हुनुको कारणमा भारत सरकारले आफनो स्वदेशी आयातकर्ताहरुको लागि कच्चा तेल आयातमा घटाएको भन्सार महसुल हो।

दुई महिना अगाडि कच्चा तेल आयातमा चालीस प्रतिशतभन्दा बढी भन्सार महसूल राखेको भारतले गत डिसेम्बरको अन्तदेखि भन्सार महसूललाई साढे पाँच प्रतिशतमा झारेपछि अहिले भारतकै व्यवसायीहरुले सस्तो मूल्यमा मलेशिया र थाइल्यान्डबाट कच्चा तेल आयात गरी प्रशोधन गरी भारतीय बजारमा बेचिरहेका छन्।

नेपाली उद्योगबाट उत्पादित तेलहरु बिहार र उत्तर प्रदेशको केही मुख्य शहरमा मात्रै जाने गरेको वीरगंज करिडोरमा सञ्चालित ओसिबी फुडस एण्ड फिल्ड प्रालिका सञ्चालन सुरेश रुंगटा बताउँछन्।

भारतमै उत्पादन हुने प्रशोधित तेलहरु नेपालको तेलभन्दा सस्तो पर्ने भएकोले भारतीय बिक्रेताहरु नेपाली तेल उठाउनुभन्दा भारतमा उत्पादित तेलहरुलाई ग्राहयता दिइरहेको व्यवसायीहरुको भनाइ छ। उनले भारतीय नीतिको कारण अहिले नेपाली व्यवसायीले करोडौं घाटा सहेर सस्तोमा तेल बेचिरहेको बताए। उनले करिब लिटरमा पहिलेभन्दा २० रुपैयाँ घाटा खाएर तेल बेच्नुपरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell