मोरङ : नेपाल पत्रकार महासङ्घको स्थापना दिवसका उपलक्ष्यमा षष्टिका बस्नेत सूचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ यस वर्ष गजेन्द्र बुढाथोकी र देवनाराण साहलाई प्रदान गरिएको छ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाबाट प्रदान गरिँदै आएको सूचनाको अधिकार पुरस्कारको राशि रु ५० हजार ५१ टक्सार म्यागजिनका प्रधान सम्पादक बुढाथोकीलाई र प्रोत्साहन पुरस्कारको राशि रु १५ हजार ५१ बाट कान्तिपुर दैनिकका जिल्ला संवाददाता साहलाई बुधबार साँझ सम्मान गरिएको हो। प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सम्मानित सञ्चारकर्मीद्वय पुरस्कार प्रदान गर्दै पत्रकारले निष्पक्ष, सत्यतथ्यका आधारमा जनताको पक्षमा समाचार पस्कनुपर्नेमा जोड दिँदै मुलुकको सामाजिक तथा राजनीतिक परिवर्तन क्षेत्रका खेलेको भूमिकाको प्रशंसा गरे।
विराटनगर–११ निवासी बस्नेतले सूचनाको अधिकार क्षेत्रमा कार्य गर्ने अभियानकर्मी एवं पत्रकारलाई प्रदान गर्न आफ्नी स्व धर्मपत्नी षष्टिका बस्नेतको नाममा रु सात लाख अक्षय कोष स्थापना गरेका थिए।