काठमाडौं : बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन्।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले स्थानीय तहमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेपछि बैठक बस्न लागेको हो। चुनावी तालमेलका लागि सत्ता गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रस्ताव गरेका थिए।
कांग्रेसले औपचारिक निर्णय गरेपछि तालमेलको मोडालिटी बनाउन नेताहरु जुटेका हुन्। स्थानीय तहको निर्वाचनमा के कसरी उम्मेद्वार तय गर्ने भन्नेबारेमा नेताहरुबिच छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
प्रचण्डले गठबन्धनमा एमालेले चुनाव जितेको ठाउँमा गठबन्धनको साझा उम्मेद्वार उठाउनुपर्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा कांग्रेसभित्र दुईथरी मत जाहेर भएको थियो।
यता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सत्ता गठबन्धनको आलोचना गर्दै आएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग गठबन्धन पराजित हुने दाबी गर्दै आएका छन्।
