PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

चीनको भ्रमणपछि भारत जाँदै रुसी विदेशमन्त्री, होला त सस्तोमा तेल किन्ने सहमति



पहिलोपोस्ट

चीनको भ्रमणपछि भारत जाँदै रुसी विदेशमन्त्री, होला त सस्तोमा तेल किन्ने सहमति

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि बिहीवार भारत पुग्दै छन्। रुसले युक्रेनमाथि  २४ फेब्रुअरीमा आक्रमण थालेपछि भारतमा रुसबाट हुन लागेको उच्चस्तरको पहिलो भ्रमण हो।

राष्ट्रसंघको आपतकालीन विशेष महासभामा युक्रेन मामिलामा भएको मतदानमा भारत तटस्थ बसेको थियो। भारतीय विदेश मन्त्रालयले बुधवार भ्रमण हुने औपचारिक घोषणा गरेको छ। भ्रमण बिहीवार र शुक्रवार हुनेछ।

भारत भ्रमण अगाडि रुसी विदेश मन्त्री लाभरोभ उत्तरी छिमेकी चीनको भ्रमणमा छन्। बुधवार उनी चीनको आनहुइ प्रान्तको थुन्सीमा पुगेका थिए। त्यहाँ उनले चीनका विदेशमन्त्री वाङ यीसँग भेट गरेका थिए। भेटका क्रममा चिनियाँ विदेश मन्त्री वाङले रुस र युक्रेनको समस्या शान्तिपूर्ण सम्बादबाट हुनुपर्ने भन्दै चीनले सकारात्मक नतिजाका लागि सहयोग गर्न बताएका थिए।

आनहुईमा चिनियाँ विदेश मन्त्री वाङले अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीहरुको बैठक आयोजना गरेका थिए।

रुसी विदेशमन्त्रीसँग भएको द्विपक्षीय वार्तामा चिनियाँ विदेशमन्त्री वाङले युक्रेन समस्या शित युद्धकालीन मानसिकताको नजिता भएको भन्दै यसलाई ‘बल्क कन्फर्न्टेसन’को संज्ञा दिएको चाइना डेलीले जनाएको छ।

आनहुईमा चीनको आयोजनामा अफगानिस्तान मामिलामा चीन-रुस-अमेरिका परामर्स संयन्त्रको बैठक बसेको थियो। त्यस्तै, विदेश मन्त्री वाङले रुस, अफगानिस्तान, पाकिस्तानका विदेशमन्त्रीको संयुक्त बैठक आयोजना गरेका थिए। सो बैठकमा अफगानिस्तानका छिमेकी देशहरु तुर्कमिनिस्तान, कतार लगायतका देशका विदेश मन्त्रीसमेत सहभागी थिए।

विदेश मन्त्री वाङले विदेशी पाहुनासँग छुट्टाछुट्टै भेटवार्ता समेत गरेका थिए।

उत्तरी छिमेकी चीनमा दुई दिने बैठकमा सहभागी भएर रुसी विदेश मन्त्री लाभरोभ नयाँ दिल्ली पुग्ने कार्यक्रम रहेको छ। बिहीवार नयाँ दिल्ली ओर्लिने रुसी विदेशमन्त्रीले शुक्रवार विदेशमन्त्री एस जयसंकरसँग भेट गर्ने कार्यक्रम रहेको एएनआईले जनाएको छ। रुसी विदेश मन्त्री लाभरोभ अप्रिल ११ मा भारत र अमेरिकाबीच हुने २ प्लस २ वार्ताको दुई साता अगाडि भारत भ्रमणमा आउन लागेका हुन्।

पश्चिमा राष्ट्रहरुबाट नाकाबन्दीको सामना गरिरहेको रुसले चीन र भारतसँगको व्यापारिक सम्बन्धलाई थप मजबुद बनाउने तयारी स्वरुप बताइएको छ। भारतले रुसलाई भारतमा लगानीको बाटो खुला गर्न यो भ्रमण फलदायी हुने एएनआईले जनाएको छ।

पश्चिमा राष्ट्रहरुले नाकाबन्दी गरेपछि रुसले भारतलाई २० देखि ३० प्रतिशतसम्म छुटमा तेल बिक्री गर्ने प्रस्ताव गरेको छ। भारत इन्धनको उच्च मूल्यवृद्धिको सामाना गरिरहेको छ। यद्यपि, भारतले यस विषयमा निर्णय लिइसकेको छैन। यो वार्तामा यस विषयमा छलफल हुने बताइएको छ। भारतको रिर्जभ बैंक मार्फत् लगानीको बाटो खुला गर्नसक्ने बताइएको छ। जुन व्यवस्था सोभियत युनियन कालमा पनि थियो।

दुई देशबिच हुने वार्तामा इन्धनका साथै सैन्य सहयोगका विषयमा पनि छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell