PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सत्ता गठबन्धनमा रहेका ५ दलले एमालेसँग तालमेल नगर्ने, महानगरको उम्मेद्वार केन्द्रबाट र अन्त सम्बन्धित ठाउँको संयन्त्रले टुंग्याउने



पहिलोपोस्ट

सत्ता गठबन्धनमा रहेका ५ दलले एमालेसँग तालमेल नगर्ने, महानगरको उम्मेद्वार केन्द्रबाट र अन्त सम्बन्धित ठाउँको संयन्त्रले टुंग्याउने
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा महानगरको उम्मेद्वारीबारे केन्द्रबाटै टुंग्याउने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बुधवारको बैठकले चुनावी तालमेल गरेर जाने निष्कर्ष निकालेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए। पाँच दलबाहेकका दलसँग गठबन्धन नगर्ने पनि सत्तारुढ दलहरुको निचोड छ।

स्थानीय तहमा सत्ता गठबन्धनमा रहेका दलहरुले एमालेसँग पनि तालमेल गर्न लागिरहेको भन्ने चर्चा चलेपछि बालुवाटारमा बसेको बैठकले अब एमालेसँग तालमेल गर्न नमिल्ने निर्णय गरेको हो।

'पाँच दलबाहेक अरुसँग गठबन्धन नगर्ने, सबै तहमा संयन्त्र गरेर जाने,' खनालले भने। तीनै तहमा चुनावी तालेमलका लागि संयन्त्र गठन गरेको सत्ता गठबन्धनले महानगर बाहेकमा सम्बन्धित ठाउँका संयन्त्रलाई उम्मेद्वार टुंगयाउनुपर्ने व्यवस्था गरेको छ।  

'उम्मेद्वारबारे प्रक्रियागत कुराहरुमा फर्मल छलफल गर्ने। सम्बन्धित संयन्त्रले छलफल गरेर टुंगो लगाउने,' खनालको भनाइ छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा देउवा, माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड, खनाल लगायतको सहभागिता थियो। यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले आवश्यकताका आधारमा चुनावी तालमेल गर्नुपर्ने निर्णय गरेको थियो। आजै देउवा र प्रचण्डले पनि चुनावी तालमेल गरेरै निर्वाचनमा जाने बताएका थिए।

रिपोर्टस क्लबको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा देउवा र प्रचण्डले तालमेलबारे ढुक्क हुन नेता/कार्यकर्तालाई आश्वासन दिएका थिए। यसअघि सरकार सञ्चालनका लागि भन्दै गठबन्धनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो। केन्द्रमा पौडेलमा रहेको संयन्त्रजस्तै तीनै तहमा गठबन्धनले राजनीतिक संयन्त्र बनाउने भएको हो। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलबारे जिल्ला कमिटीले निर्णय गर्न सक्ने निचोड निकालेको थियो। सत्ता गठबन्धनको बुधवारको बैठक पछि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले तल्लो तहसम्मै एमालेसँग सहकार्य गर्न नपाउने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell