PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

पाँच दिनको अवधिमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन युवक पक्राउ



रासस

पाँच दिनको अवधिमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन युवक पक्राउ

जलेश्वर : विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाखसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतवार ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका थिए भने बिहीवार ८ लाख रुपैयाँसहित थप एक युवक पक्राउ परे।

जिल्लाको जलेश्वर-बर्दिबास सडकखण्डको औरहीमा गत आइतवार दिउँसो स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित औरही नगरपालिका-२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए। ज ९ प ८२४७ नम्बरको मोटरसाइकलमा बसेर कालो झोलामा ५५ लाख बोकी गइरहको अवस्थामा प्रहरीले शङ्का लागेर जाँच गर्दा उनीहरु पक्राउ परेका थिए।

रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो।

त्यसैगरी, भारतबाट स्रोत नखुलेको करिब आठ लाख रुपैयाँसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका-५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्र कुमारलाई गएराति प्रहरीले पक्राउ गरेको थियो। भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडाभित्र रकम राखी साइकलमा सम्सी गाउँपालिकास्थित प्रहरी चौकी नजिक आउँदै गरेका उनीमाथि शङ्का लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको सात लाख ९१ हजार रुपैयाँ बरामद गरेको थियो।

पक्राउ परेका दासलाई गएराति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा लगिएकामा कार्यालय बन्द भएकाले आज बुझाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell