काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा नेपालले पपुवा न्युगिनीलाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि आक्रामक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ४ छक्का र ३ चौकाको सहायतामा सर्वाधिक ६६ रन बनाए। त्यस्तै रोहित पौडेलले आक्रामक ४१ रन बनाउँदा आशिफ शेखले ३८ तथा कुशल भुर्तेलले १६ रन बनाए। त्यस्तै मोहम्मद आदिल आलमले डेब्यु खेलमै आक्रामक ब्याटिङ गर्दै ११ बलमा ३ छक्का र १ चौकाको सहायतामा ३१ रन बनाए। अन्तिममा आक्रामक ब्याटिङ गरेको नेपालले अन्तिम ३ ओभरमा ४ विकेट गुमाउँदै ६० रन जोडेको थियो।
बलिङतर्फ पीएनजीका कबुवा मोरेराले सर्वाधिक ३ विकेट लिँदा रिले हेकुरेले २ तथा नोर्मन भउना र नोसैना पोकनाले समान १ विकेट लिए।
पीएनजी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।
