
काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा घरेलु टोली नेपाल फाइनल प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा पपुवा न्युगिनीमाथि ३७ रनको जित निकालेसँगै नेपालले फाइनलमा स्थान बनाएको हो।
आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजी १६६ रनमा अलआउट भयो।
सुरुवाती ब्याटिङ गरेको नेपालका लागि आक्रामक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ४ छक्का र ३ चौकाको सहायतामा सर्वाधिक ६६ रन बनाए। त्यस्तै रोहित पौडेलले आक्रामक ४१ रन बनाउँदा आशिफ शेखले ३८ तथा कुशल भुर्तेलले १६ रन बनाए। त्यस्तै मोहम्मद आदिल आलमले डेब्यु खेलमै आक्रामक ब्याटिङ गर्दै ११ बलमा ३ छक्का र १ चौकाको सहायतामा ३१ रन बनाए। अन्तिममा आक्रामक ब्याटिङ गरेको नेपालले अन्तिम ३ ओभरमा ४ विकेट गुमाउँदै ६० रन जोडेको थियो।
बलिङतर्फ पीएनजीका कबुवा मोरेराले सर्वाधिक ३ विकेट लिँदा रिले हेकुरेले २ तथा नोर्मन भउना र नोसैना पोकनाले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले ओपनरद्वय लेगा सिएका र कप्तान असद भालालाई समान १/१ रनमा गुमाएको थियो। त्यसपछी आएका चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाउँदा टोनी उराले ४३ रन बनाए। त्यस्तै नोर्मन भउनाले १७ अन्य ब्याट्सम्यानको प्रदर्शन उच्च रहेन।
बलिङतर्फ करण केसीले ह्याट्रिक पुरा गर्दै ५ विकेट लिए। उनले १९.२ मा चाड सोपर, १९.३ मा सिमोन अटाइ र १९.४ ओभरमा नोसैना पोकनाको लगातार विकेट लिँदै ह्याट्रिक पुरा गरे। त्यसअघि उनले लेगा सिएका र असद भालाको विकेट लिएका थिए। त्यस्तै सोमपाल कामी र अविनास बोहोराले समान २ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए।
सिरिजका तीन खेलमा जितसँगै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ। पपुवा न्युगिनी भने लगातार तीन वटा खेलमा पराजित भएको छ। शुक्रवार मलेसिया र पीएनजी भिड्नेछन् भने शनिवार नेपाल र मलेसिया भिड्नेछन्। सिरिजको फाइनल खेल सोमवार हुनेछ।