काठमाडौं : स्थानीय तहको निर्वाचनको मतगणना स्थललाई सीसीटीभी क्यामेराबाट निगरानी गरिने भएको छ। यसका लागि निर्वाचन आयोगले सम्बन्धित स्थानीय तहहरुलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले ७५३ स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिइएको जानकारी दिए। त्यसका लागि विभिन्न पालिकाहरुले सीसीटीभी क्यामेरा जोड्दै गरेको र कतिपय पालिकाले प्रक्रिया सुरु गरेको जानकारी प्राप्त भएको उनले बताए।
‘सबै सूचना त प्राप्त भइसकेको छैन। तर, हामीलाई विभिन्न स्थानीय तहबाट त्यो खालको सूचनाहरु सकरात्मक रेस्पोन्स प्राप्त भएको छ’, बिहीवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने, ‘कतिपय दुर्गम स्थानहरुमा बत्तीहरु नहुन सक्छ। कम्तिमा सबै मतगणना स्थलमा सीसीटीभी जडान गर्ने र आयोगले केन्द्रबाट मोनिटर गर्ने सोच हो। सोही अनुसार सकरात्मक रेस्पोन्स आएको छ।’
उनले हाल सबै मतदान स्थलमा सीसीटीभी जडान गर्ने लक्ष्य नभए पनि केही मतदान स्थलबाट पनि त्यस्तो सुविधा होस् भन्ने रहेको बताए।