PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

खिल्ली उडाउँदै बालमैत्री गाउँपालिका, पाँच सय बालबालिका जोखिमपूर्ण श्रममा



निशा गुरुङ

खिल्ली उडाउँदै बालमैत्री गाउँपालिका, पाँच सय बालबालिका जोखिमपूर्ण श्रममा

हेटौँडाः २०७६ पुस २८ गते तामझामसाथ नेपालको पहिलो ‘बालमैत्री स्थानीय शासन अवलम्बन’ गरेको मकवानपुरको मनहरि गाउँपालिका र दोस्रो बकैया गाउँपालिकाका सयौं बालबालिका जोखिमपूर्ण श्रम गरिरहेको पाइएको छ। यसले ती पालिकाहरुले बालमैत्री शासनको खिल्ली उडाएको र घोषणाका लागि अनुमति दिने निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको स्पस्ट भएको छ।

सिविन बाल हेल्पलाइन नेपाल मकवानपुरले गरेको अध्ययनमा नेपालको पहिलो बालमैत्री गाउँपालिका मनहरिमा कानुनले अवैध भनेको बालश्रम भइरहेको पाइएको हो। पहिलो बालमैत्री मनहरि गाउँपालिका २, ४, ६ र ८ नम्बर वडामा ७ हजार १४ बालबालिकामा गरिएको अध्ययनबाट ३५१ बालबालिका बालश्रममा रहेको देखिएको सिविन बाल हेल्पलाइन नेपाल मकवानपुरले जनाएको छ।

नेपालकै दोस्रो बालमैत्री गाउँपालिका घोषित बकैयामा पनि १४७ बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य भएको अध्ययनले देखाएको छ। ग्रामीण महिला स्वावलम्बनले बकैया गाउँपालिकाका सबै वडामा गरेको अध्ययनमा १४७ बालबालिकाले श्रम गरिरहेको पाइएको छ।

बालमैत्री गाउँपालिका घोषणा गर्न ३९ वटा सूचक पूरा भएको हुनुपर्छ।  मापदण्डमा १७ सूचक शतप्रतिशत हासिल गर्नुपर्छ। जसमा २२ सूचकमा न्यूनतम ८० प्रतिशत हासिल हुनुपर्ने हुन्छ। सबै मापदण्ड पूरा गरेको भन्दै नेपालकै पहिलो र दोस्रो बालमैत्री गाउँपालिका घोषित यी २ गाउँपालिकाका ४९८ बालबालिका जोखिमपूर्ण श्रम गर्न विभिन्न कारणले बाध्य भएको अध्ययनले देखाएको छ।

बाल हेल्पलाइनले तयार पारेको प्रतिवेदन अनुसार मनहरि गाउँपालिकामा २८६ जना आर्थिक कारण, २१ घरेलु हिंसाका कारण, आर्थिक सहयोगका लागि परिवारबाट दिइएको दबाबले ८ जना, रोजगारदाताद्वारा प्रभावित पारेर १९ जना, पढाइमा रुचि नभएर १७ जना बालबालिका श्रम गर्न बाध्य भएको बताएका छ।

बाल श्रमिकमध्ये विवाहित ११ र अविवाहित ३४० जना छन्। बालश्रममा लागेका बालक २३९ र बालिका ११२ जना छन्।

मनहरि गाउँपालिकाभित्र १४४ जना र मनहरि गाउँपालिकाबाहिर २०७ जना बालबालिका श्रम गरिरहेको तथ्यांकमा उल्लेख छ।

सिविन नेपालले मनहरिका ४ वडाका ७ हजार बालबालिकामा सर्वेक्षण गरेको थियो। मनहरिको २ र ४ नम्बर वडाका बढी बालबालिका गलैँचा कारखानामा काम गरिरहेको सर्वेक्षणले देखाएको सिविन प्रमुख झवीन्द्र ज्ञवालीले जानकारी दिए। ६ नम्बर वडाका घरेलु बालश्रम, गलैँचा कारखाना र यातायात क्षेत्रमा बढी बालबालिका कार्यरत रहेको ज्ञवालीले बताए।

८ नम्बर वडाका बालबालिका घरेलु श्रम र यातायात क्षेत्रमा बढी छन। घरेलु श्रममा रहेकामध्ये अधिकांश बालबालिका आफ्नै घरमा ३४ जना, आफन्तको घरमा १४ जना र केही बालबालिका अपरिचित व्यक्तिको घरमा काम गरिरहेका छन्। ती बालबालिका विद्यालय जान नपाएको अध्ययनले देखाएको सिविनले जनाएको छ।

अध्ययन गरिएका बालबालिकामध्ये उमेर समूहअन्तर्गत ६ देखि १० वर्षका ११ जना, ११ देखि १५ वर्ष उमेर समूहका १३५ जना, १६ देखि १८ वर्ष उमेर समूहका २०५ जना छन्। सिविनले अध्ययनपश्चात् प्रस्तुत गरेको प्रतिवेदनमा जनाइए अनुसार वर्तमान अवस्थामा काम छाड्ने बालबालिका २३७ र तत्काल काम नछाड्ने योजना बनाएका बालबालिका ११४ रहेको सिविन मकवानपुर प्रमुख ज्ञवालीले जानकारी दिए।

नेपालकै दोस्रो बालमैत्री गाउँपालिका बकैयाले माघ २९ गते बालमैत्री स्थानीय शासन अवलम्बन गरेको पहिलो वार्षिकोत्सव मनाएको छ। बालबालिकाको सम्पूर्ण हक अधिकार संरक्षण गरी गाउँपालिका बालमैत्री घोषणा भएको वार्षिकोत्सव मनाइरहँदा त्यहाँका १४७ बालबालिका जोखिम बहन गरेर श्रम गर्न बाध्य रहेको पाइएको छ।

ग्रामीण महिला स्वावलम्बनले गरेको अध्ययन अनुसार बकैया गाउँपालिकाका ८० जना बालबालिका काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङलगायत जिल्लामा गलैँचा कारखाना र इँटा भट्टामा श्रमिकका रुपमा कार्यरत छन्। होटल, सवारीसाधनमा सहचालक, ग्यारेजलगायत क्षेत्रमा ६७ बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ। मकवानपुरको गढी गाउँपालिका नेपालको चौथो र मकवानपुर जिल्लाको तेस्रो बालमैत्री घोषणा भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रमको नीतिगत निर्णयमा मकवानपुरगढी गाउँपालिकालाई २०७८ मंसिरभित्र बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरिएको थियो।

बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणाका लागि बालमैत्री गाउँपालिका घोषणा गर्न स्थानीय शासन कार्यान्वय निर्देशिका, २०७८ अनुसार ५१ वटा सूचकमा रहेर काम गरिएको गढी गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले बताए।

कुल २५ हजार १०५ जनसंख्या भएको गढीमा ५ हजार ३ घरधुरी छन्। जसमा बालबालिकाको संख्या ८ हजार २९६ छ। ८ वटा वडा रहेको गाउँपालिकामा ३९ सामुदायिक र १ संस्थागत गरी ४० विद्यालय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell