PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाको कोलम्बोमा कर्फ्यू



पहिलोपोस्ट

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाको कोलम्बोमा कर्फ्यू

चरम आर्थिक संकटबाट गुज्रिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकाको कोलम्बोमा बिहीवार राति हिंसा फैलिएपछि कर्फ्युको आदेश भएको छ। कोलम्बो जिल्लाको केही भागमा प्रदर्शनकारी सडकमा हिंसात्मक गतिविधिमा उत्रिएपछि रातिदेखि कर्फ्यु लगाउन परेको कोलम्बो टाइम्सले जनाएको छ।

कोलम्बो नर्थ, कोलम्बो साउथ, कोलम्बो सेन्ट्रल, नुगेगोडा, केल्यानिया र माउन्ट लाभिनिया क्षेत्रमा कर्फ्यू लगाइएको हो। प्रहरी अधिकारीलाई उदृत गर्द कोलम्बो टाइम्सले यी क्षेत्रका विद्यालय कहिलेबाट खुल्छन् भन्ने अझै यकिन नभइसकेको जनाएको छ।

श्रीलंकका राष्ट्रपति गोटाबाया राजपाक्षेको निवास जाने बाटोलाई प्रदर्शनकारीहरुले बन्द गराएका थिए। आर्थिक संकटको मुद्दालाई लिएर भएको राजनीतिले मुलुक थप संकटतिर धकेलिँदैछ। प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहराले तितरवितर पारेको थियो।

आन्दोलनकारीहरो मुख्य असन्तोष १६ घन्टा लामो समयसम्म बिजुली प्रवाह काटिनु, खाना पकाउने ग्यासको अभाव हुनु, पेट्रोल, डिजेल र मट्टीतेल उपलब्ध नहुनु, अत्यावश्यक खाद्यान्नको अभाव र चर्को मूल्यवृद्धिले गराएको छ। इन्धनको मूल्यवृद्धिले सबै क्षेत्रमा महँगी बढाएको छ।

विद्युत आपूर्ति असमान रुपमा भइरहेकोमा पनि आन्दोलन भइरहेको छ। आन्दोलनकारीले सार्वजनिक बसमा आगजनी समेत गरेका छन्।

आन्दोलनकारीले राष्ट्रपतिको राजीनामालाई मुख्य माग बनाएका छन्। उनीहरु हिंसात्मक भएपछि अश्रुग्यास र पानीको फोहराका अलावा प्रहरीले गोली प्रहार गरेका थिए।

श्रीलंकाले बिहीवारबाट विद्युत आपूर्ति नियन्त्रण गर्न भन्दै सडक बत्ती बन्द गर्ने निर्णय गरेको थियो। बिजुली आपूर्तिकै कारण स्टक मार्केटमा कारोबार समेत रोकिएको थियो। दैनिक कम्तिमा १३ घन्टा लोडसेडिङको मार श्रीलंकाली नागरिकले खेपिरहेका छन्। सरकारसँग बिद्युत उत्पादनका लागि इन्धन खरिद गर्न पर्याप्त विदेशी मुद्रा नहुँदा यस्तो संकट निम्तिएको हो। श्रीलंकाली ऊर्जा मन्त्रीले देशका सबै क्षेत्रमा सडक बत्ती नबाल्न निर्देशन दिइएको जानकारी दिएका छन्। चर्को महँगी र अभाव भोगिरहेका जनतामाथि बिद्युत आपूर्ति अवरुद्ध हुँदा थप संकट परेको हो।

खुद्रा बजारमा अघिल्लो वर्षको तुलनामा १८.७ प्रतिशतले महँगी बढेको छ। खाद्यान्नको मूल्य ३०.२ प्रतिशत बढेको छ। मुद्रा लगातार अवमूल्यन हुनु तथा गत वर्ष मल आयात निषेध गरिँदा उत्पादनमा ठूलो प्रभाव देखिएको छ। श्रीलंकाको अहिलेको अवस्था दशकौंसम्म नभोगेको स्थिति भएको फर्स्ट क्यापिटल रिसर्चका प्रमुख दिमन्थ मेथ्युले जानकारी दिए। भारतबाट ५० करोड डलरको डिजेल उधारोमा आउने प्रकृया अगाडि बढेको छ। तर त्यसले पनि अवस्था सुधार्न नसकिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell