PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सत्ता गठबन्धनविरुद्ध ओली र लिङ्देनको जोडी, एमाले-राप्रपाको चुनावी तालमेलको गृहकार्य यस्तो



प्रकाश भण्डारी

सत्ता गठबन्धनविरुद्ध ओली र लिङ्देनको जोडी, एमाले-राप्रपाको चुनावी तालमेलको गृहकार्य यस्तो

काठमाडौं : नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न गृहकार्यमा जुटेका छन्। सत्तारुढ ५ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले पनि त्यसका विरुद्ध चुनावी तालमेलको गृहकार्य अघि बढेको हो।

चुनावी तालमेलबारे एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशम्सेर राणाबिच नेपालगञ्जमा बिहीवार साँझ भेटवार्ता भएको थियो। राणाले ओलीसँग गठबन्धनका लागि प्रारम्भिक वार्ता भएको जानकारी दिए। आ-आफ्नो दलमा छलफल गरेर फेरि वार्ता गर्ने सहमति भएको राणाले बताए।

'प्रारम्भिक छलफल भएको हो। कांग्रेसले पनि गठबन्धन गर्ने भएपछि हामीले पनि गठबन्धन गर्नुपर्ने परिस्थिति आयो,'उनले भने।

के कसरी चुनावमा तालमेल गर्न सकिन्छ भन्नेबारेमा ओली र राणाबिच कुराकानी भएको थियो। एमालेको चैत ९ र १० गते काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलबारे निर्णय गर्ने अधिकारी जिल्ला कमिटीलाई दिएको थियो।

'राष्ट्रिय स्तरमा हुदैँन'

केन्द्रीय कमिटीको उक्त बैठकमा ओलीले चुनावी तालमेल पनि औचित्यका आधारमा हुनुपर्ने बताएका थिए। चुनावमा केही दलहरुसँग सहकार्य गर्न सकिने भए पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेलको सम्भावना नरहेको ओलीले केन्द्रीय सदस्यहरुलाई बताएका थिए। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय तहमा चुनावी तालमेल हुन सक्ने भए पनि राष्ट्रिय स्तरमा भने एमाले एक्लै चुनावमा जाने बताए।                   फोटो -धवलशम्शेर राणा र केपी शर्मा ओली

'स्थानीय तहमा केही व्यक्तिहरुले केही संस्थाहरुले मिलौं भने भने छुट्टै कुरा तर राष्ट्रिय स्तरमा हामी कसैसँग पनि मिल्दैनौं,'उनले भने।

सत्तारुढ दलहरुको बिहीवार बालुवाटारमा बसेको बैठकले चुनावी तालमेलका लागि सबै तहमा संयन्त्र बनाएर अघि बढ्ने निर्णय गरेको थियो।चुनावमा कांग्रेस अरु दलसँग तालमेल गर्न तयार भएपछि एमाले अहिले दबाबमा छ। एमालेले पनि सहकार्यका लागि अरु दलहरुसँग संवाद थालेको हो।

स्थानीय तहको नतिजाका आधारमा गठबन्धन

एमालेले स्थानीय तहको निर्वाचनलाई आफ्नो परीक्षणको रुपमा लिएको छ। पार्टी विभाजन र केन्द्र तथा प्रदेश सरकारबाट बाहिरिएर प्रतिपक्षको भूमिकामा रहेका बेला पहिलोपटक हुन लागेको चुनाव आफ्ना लागि परीक्षण भएको एमालेका नेताहरुले बताएका छन्।

भट्टराईले अहिलेको नतिजालाई विश्लेषण गरेर संसदको चुनावमा गठबन्धनबारे निर्णय हुने बताए। 'अहिलेको चुनावको परिणाम के आउँछ? गठबन्धनले कतिको विश्वास प्राप्त गर्छ? पछिको कुरा बेग्लै हो,'भट्टराईले भने।

एमालेका आन्तरिक बैठकहरुमा स्थानीय स्तरसम्म पुगेका नेतहरुले अध्यक्ष ओलीलाई चुनावमा सत्ता गठबन्धनका कारण एमालेलाई क्षति हुने रिपोर्टिङ गरेका थिए। उक्त रिपोर्टिङका बाबजुत ओली भने एमालेको जनमत पार्टी विभाजनका कारण पनि कम नभएको अडानमा छन्।

स्थानीय तहमा कति शक्ति छ राप्रपा र एमालेसँग

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा चुनावी गठबन्धन गर्दा पनि यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले ४० प्रतिशत स्थानमा जित निकालेको थियो। एमालेले २९४ ठाउँमा जितेको थियो भने राप्रपा भने २५ ठाउँमा मात्रै सफल रह्यो।

पछिल्लो समय एमाले र राप्रपा विभाजनबाट गुज्रिए। एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएर एकीकृत समाजवादी गठन गरे। राप्रपाका पूर्व अध्यक्ष कमल थापा पनि पार्टी परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष बनेका छन्।

एमालेले पार्टी विभाजनका कारण स्थानीय तहमा पहिला जितेको २९४ सिटलाई अब जोगाउन मुस्किल हुने बताइन्छ। एमालेका आन्तरिक बैठकहरुमा समेत अब एमाले २ सय भन्दा कम स्थानीय तहमा मात्रै जित निकाल्न सक्ने नेताहरुले ब्रिफिङ गरेका थिए। राजनीतिक हिसाबले शक्ति गुमाएको एमाले र राप्रपाबिच स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको संवादले एमाले-राप्रपा गठबन्धन बन्न सक्ने एमाले नेताहरुको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell