PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'मानार्थ ह्याट्रिक' लगत्तै करणको अफिसियल ह्याट्रिक



मुकुन्द घिमिरे

'मानार्थ ह्याट्रिक' लगत्तै करणको अफिसियल ह्याट्रिक
तस्बीर : क्यान

काठमाडौं : नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको त्रिदेशीय टी २० सिरिजका खेलहरु काठमाडौंमा जारी छन्। सिरिजमा सर्वाधिक विकेट लिने सूचीमा रहेका खेलाडी हुन् करण केसी। उनले तीन खेलमा १० विकेट लिइसकेका छन्।

सिरिजमा उनले लिएको ‘ह्याट्रिक’ले पनि करण चर्चामा रहे। अफिसियल ह्याट्रिक भन्दा पहिला उनी मानार्थ ह्याट्रिकका कारण चर्चामा रहे। सोमवार पपुवा न्युगिनीविरुद्धको खेलमा १८.५ र १८.६ ओभरमा लगातार दुई विकेट लिँदै केसीले आफ्नो त्यो दिनको बलिङ टुंगाए। अर्को दिन मलेसियाविरुद्धको खेलमा पहिलो बलमै उनले मलेसियन ओपनर विरनदीप सिंहलाई आउट गरे। पछिल्लो खेलको दुई बलसँगै आफ्नो खेल सकाएका उनले अर्को खेलको पहिलो बलमा नै विकेट लिए। जसलाई क्रिकेट कमेन्टेटरले 'मानार्थ ह्याट्रिक' को संज्ञा दिए।

बिहीवार भने पीएनजी विरुद्धको खेलमा 'अफिसियल ह्याट्रिक' लिन करण सफल बने। उनको ह्याट्रिक ऐतिहासिक रह्यो। नेपाली टोलीका लागि पहिलो ह्याट्रिक थियो त्यो। सँगसँगै ५० विकेटको कोशेढुंगा पनि उनले पार गरे।

'स्पेशल महसुस भइरहेको छ। ह्याट्रिक पनि र पाँच विकेट पनि आउँछ। यो मेरो बेस्ट फिगर नै हो। खुशी लागिरहेको छ। भविष्यमा अझै राम्रो गर्न प्रयास गर्छु,' केसीले खेलपछि भने।

अझ विकेट लिएपछि उनको 'पुष्पा झुकेगा नही' शैलीको सेलिब्रेशन पनि चर्चामा रह्यो।

करण क्रिकेटमा प्रवेश गर्दा आफूले कहिलै ५० विकेटको आँकडा पार गर्नेबारे नै नसोचेको बताउँछन्।

'त्यो योजना त केही बनाएको थिइन। क्रिकेट खेल्ने, जहाँसम्म पुगिन्छ, पुगिन्छ भन्ने थियो। भविष्यमा हेरौं रेकर्डहरु कति पुग्छन्,' उनले भने।

केसीले नेपालको लागि आफ्नो पहिलो ह्याट्रिक भन्ने थाहा पाए पनि सबैभन्दा राम्रो बलिङ फिगर भन्ने चाहीँ थाहा पाएका रहेनछन्।

'टिममा त्यस्तो त कसैले भनेन। पहिलो ह्याट्रिक चाहिँ भनेका थिए। बेस्ट फिगर चाहिँ भनेनन्,' उनले भने।

केसीले बिहीवार ३.४ ओभर बलिङ गर्दै २१ रन दिएर ह्याट्रिकसहित ५ विकेट लिएका थिए। उनले १९.२ ओभरमा चाड सोपर, १९.३ ओभरमा सिमोन अटाइ र १९.४ ओभरमा नोसैना पोकनाको लगातार विकेट लिँदै ह्याट्रिक पुरा गरे। त्यसअघि उनले लेगा सिएका र असद भालाको विकेट लिएका थिए।

विश्वकप छनोट खेल्न प्रयत्न गरेको भए पनि चोटका कारण नसकेको बताउने उनी टी २० का खेलहरु धेरै हुँदा अनुभव राम्रो भएको बताउँछन्।

'इन्ज्युरी कै कारण विश्वकप छनोट गुमाउन पुगेको थिएँ। खेल्नलाई प्रयास गरेको थिएँ तर फिट हुन सकिन। गाह्रो भएको थियो,' उनले भने, 'तीन चार वर्षदेखि टी २० फर्म्याटमा नै धेरै खेलियो। घरेलु क्रिकेटमा पनि धेरैजसो टी २० मै खेल्दा त्यही हिसाबले अभ्यास पनि भइरहेको हुन्छ। टी २० मा भेरिएसन प्रयोग गर्नु पर्‍यो। त्यही अनुभवले चाहीँ नेशनलमा फाइदा गरेको छ।'

उनको उपलब्‍धिलाई कप्तान सन्दीप लामिछाने उत्कृष्ट उपलब्धिका रुपमा लिन्छन्।

'करण दाईले ह्याट्रिकसहितको पाँच विकेट लिनु भयो। यो ठूलो उपलब्धि हो,' लामिछानेले भने, 'कुनै दिन क्रिकेटको उपलब्धिलाई फर्किएर हेर्दा गर्व गर्न योग्य हुनेछ किनभने कम खेलाडीले मात्र यो उपलब्धि हात पारेको छ।'

ह्याट्रिकको समयमा करणको अनुभव फरक रह्यो।

'सबैले फिल्डिङ प्लानकै कुरा गरिरहेको थियो। मैले सोचिरहेको थिएँ। तेज फाल्यो भने ब्याट्सम्यानले डिफेन्स गर्छ होला भने फिल्डिङ प्लान गरेर एउटा फिल्डर भित्र लिएर स्लोअर फाँले।'फिल्डरले बल क्याच नगर्दै सेलिब्रेट गरेका उनले अगाडि भने, 'फिल्डर चाहीँ दिपी(दीपेन्द्रसिंह ऐरी) थियो। त्यहीँ भएर सेलिब्रेट गरेँ। अरु कोही भएको भए हेर्न पर्थ्यो तर ऐरी भएपछि सेलिब्रेट गरेँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell