.jpg)
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको निर्णय नमान्नेहरुले पार्टी छाडे हुने चेतावनी दिएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शुक्रवार बिहान नयाँ बानेश्वरमा आयोजना गरेको कार्य्रक्रममा नेता सिंहले उक्त भनाई राखेका हुन्।
कांग्रेसभित्र बसेर कांग्रेस कमजोर बनाउनेहरु पार्टीमा बस्नुभन्दा बाहिरिँदा राम्रो हुने उनको भनाई थियो। यसपटक चुनावमा कांग्रेसका नेता कार्यकर्ता कसले के गरे भनेर सबैको एक एक हिसाब हुने चेतावनीसमेत नेता सिंहले दिए।
गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सिर्जना गरेकोले संविधान जोगाउन चुनावसम्मै यो आवश्यक रहेको उनको दाबी थियो।
'स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जानेछ,' नेता सिंहले भने, 'पार्टीभित्रका केही आफूलाई क्रान्तिकारी भन्ने नेताहरुले सबै जान्दाजान्दै गठबन्धनविरुद्ध बोल्नाले जनतामा अनावश्यक भ्रम छर्ने काममात्रै भएको छ। पपुलर बन्ने नाममा पार्टीलाई क्षति पुर्याउने काम भएको छ।'
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले यसपटक देशभर कांग्रेसको लहर आएको भन्दै सबैले मेहनत गर्ने बेला आएको भनाई राखे। कार्यक्रममा विभिन्न पार्टी परित्याग कांग्रेस प्रवेश गरेकालाई नेताहरुले स्वागत गरेका थिए।