PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पर्यटनमन्त्री आलेको दाबी : बन्दुकबाट निस्किएको गोली र प्रेम आलेको बोलीमा एक इन्च पनि फरक हुँदैन



अनन्तराज न्यौपाने

पर्यटनमन्त्री आलेको दाबी : बन्दुकबाट निस्किएको गोली र प्रेम आलेको बोलीमा एक इन्च पनि फरक हुँदैन

विराटनगर : पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बन्दुकबाट निस्किएको गोली र प्रेम आलेको बोलीमा एक इन्च फरक नहुने बताएका छन्।

मोरङ व्यापार सङ्घका आयोजनामा शुक्रबारदेखि सुरु भएको ९ दिने ‘रमपम ट्रेड एक्स्पो–२०७८’को उद्घाटन समारोहमा मन्त्री आलेले आफूले जे बोल्ने त्यही गर्ने उल्लेख गर्दै बोलीमा एक इन्च फरक नहुने दाबी गरेका हुन्।

आलेले अघिल्लो सरकारले नेपालका मठमन्दिर, पशुपतिनाथ धर्मशालादेखि नारायणहिटी राजदरबारसम्म कौडीका भाउमा बेचेको आरोप लगाए।

उनले आफू वर्तमान सरकारको मन्त्री भइसकेपछि अघिल्ला सरकारले कौडीका भाउमा विक्री गरेका सबै सम्पत्ति फिर्ता ल्याएको बखान गरे।

‘हामी संसदका लेखा समितिमा हुँदा पनि वाइड बडी प्रकरणमा भ्रष्टाचार ठहर गरेर त्यसको फाइल अख्तियारमा पठाउन सक्षम भयौँ’, आलेले सुनाए, ‘अहिले त्यही सम्बन्धमा अख्तियारले ४ अर्ब ३५ करोडको मुद्दा चलाइरहेको छ। त्यस्तै वैज्ञानिक वन व्यवस्थापनका नाममा धान काटेझैँ सालका रुख काट्ने प्रावधानलाई पनि म वनमन्त्री भएका बेला रोकेँ। त्यही काम गरेपछि नेपालको वन ४० प्रतिशत भएको छ र नेपालले अन्तर्राष्ट्रिय समुदायबाट वार्षिक ३६ अर्ब रुपैयाँ रोयल्टी पाउने भएको छ।’

उनले विराटनगर विमानस्थलको टर्मिनल भवन बनाउने कुरामा आफू सहमत भएको तर अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता नगरेको हुँदा काम अड्किएको जानकारी दिए।

आलेले अर्थ मन्त्रालयले यसका लागि ३० करोड रुपैयाँमात्र दिएको तर टर्मिनल भवन बनाउन ३ अर्ब लाग्ने बताए। अर्थबाट स्रोत सुनिश्चित नभएकै कारण विराटनगर विमानस्थलको टर्मिनल भवनको टेन्डर रद्द गर्नुपरेको उनको भनाइ छ।

आलेको प्रश्न थियो, ‘के मैले बाँकी २ अर्ब ७० करोड रुपैयाँ आफ्नो घरजग्गा बिक्री गरेर ल्याउने हो र?’

उनले आगामी जेठमा बुद्ध पूर्णिमाका दिन प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध विमानस्थलको उद्घाटन गर्ने र तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखराको उद्घाटन ५ महिनापछि गरिने स्पष्ट पारे।

यसअघि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मन्त्री आलेसमक्ष आग्रह गरे।

पूर्व रक्षामन्त्री एवम् नेपाली काङ्ग्रेसका सांसद डा. मीनेन्द्र रिजालले कोभिडपछि बौरिन थालेका पूर्वका व्यवसायी अहिले तरलताको सङ्कट, बैङ्कको चर्को ब्याज, मीरगञ्जको पुल र लोडसेडिङ गरी ४ मुख्य समस्याले पीडित भइरहेको धारणा प्रकट गरे।

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराटनगरमा निजी क्षेत्रका व्यावसायिक संस्था उद्योग सङ्गठन र व्यापार सङ्घले प्रदर्शनी स्थलका लागि जग्गा लिजमा लिए पनि सरकारले सहयोग नगरेको गुनासो गरे।

अध्यक्ष प्याकुरेलले भारतीय पर्यटक काठमाडौंका लागि उडिरहने विराटनगर विमानस्थलमा गाईजात्राको अवस्था भएको टिप्पणी गर्दै यसको सुधारका लागि माग गरे।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले मेलामा वातानुकूलित ८० वटा, कुलरयुक्त ५३ र साधारण १०६ वटा सहित फुडकोर्ट, अटोमोबाइलका समेत गरी कुल २७० स्टल भएको जानकारी दिए।

मेला संयोजक विकास बेगवानीले २७ गते समापन गरिने मेलाको ३ लाख जनाले अवलोकन गर्ने र ५० करोडको कारोबार हुने चर्चा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell