
चरम आर्थिक संकटबाट गुज्रिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकाको राजधानी कोलम्बोमा हिंसात्मक प्रदर्शन जारी छ। आर्थिक संकटका बिच सरकारको कामकारबाहीप्रति असन्तुष्ट नागरिकहरुले प्रदर्शन जारी राखेका हुन्।
सो क्रममा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा आक्रमण गर्न प्रदर्शनकारी पुगेका छन्। भीडलाई हटाउन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेपछि झन्डै ५० जना घाइते भएका छन्। त्यस्तै, ४५ जना पक्राउ परेका छन्।
यो आर्थिक संकट श्रीलंकाको इतिहासकै सबैभन्दा ठूलो भएको बताइएको छ। आर्थिक संकटका कारण खाना पकाउने ग्यास, औषधि, इन्धन र खाद्यान्न जस्ता आधारभूत वस्तुहरू आयात गर्न सकस भएको बताइएको छ।सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरूको संकटको समाधान गर्न नसक्ने राजपाक्षे र सम्पूर्ण मन्त्रिपरिषद्को राजीनामा माग्दै नारा लगाएका थिए। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा प्रदर्शनकारीहरूले ‘पागल घर जाउ’ भन्दै नारा लगाएको देखिएको छ।
भीडलाई तितरबितर पार्न सुरक्षा बलले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेका थिए। मिरिहानास्थित राष्ट्रपतिको घर नजिकै प्रदर्शनकारीले सेना र प्रहरीको गाडीमा आगजनी गरेका छन्।
आधिकारिक स्रोतहरूले एएफपीलाई बताएअनुसार विरोध प्रदर्शन हुँदा राजापाक्षे घरमा थिएनन्। डिजेलको अभावले अन्यत्र प्रदर्शनहरू सुरु भएपछि पहिलो पटक राष्ट्रपति लक्षित प्रदर्शन भएको हो।
श्रीलंकाले बिहीवारबाट विद्युत आपूर्ति नियन्त्रण गर्न भन्दै सडक बत्ती बन्द गर्ने निर्णय गरेको थियो। बिजुली आपूर्ति नहुँदा स्टक मार्केटमा कारोबार समेत रोकिएको थियो।
दैनिक कम्तिमा १३ घन्टा लोडसेडिङको मार श्रीलंकाली नागरिकले खेपिरहेका छन्। सरकारसँग विद्युत उत्पादनका लागि इन्धन खरिद गर्न पर्याप्त विदेशी मुद्रा नहुँदा यस्तो संकट निम्तिएको हो।
श्रीलंकाली ऊर्जा मन्त्रीले देशका सबै क्षेत्रमा सडक बत्ती नबाल्न निर्देशन दिइएको जानकारी दिएका छन्। चर्को महँगी र अभाव भोगिरहेका जनतामाथि विद्युत आपूर्ति अवरुद्ध हुँदा थप संकट परेको हो।
खुद्रा बजारमा अघिल्लो वर्षको तुलनामा १८.७ प्रतिशतले महँगी बढेको छ। खाद्यान्नको मूल्य ३०.२ प्रतिशत बढेको छ।
मुद्रा लगातार अवमूल्यन हुनु तथा गत वर्ष मल आयात निषेध गरिँदा उत्पादनमा ठूलो प्रभाव देखिएको छ। श्रीलंकाको अहिलेको अवस्था दशकौंसम्म नभोगेको स्थिति भएको फर्स्ट क्यापिटल रिसर्चका प्रमुख दिमन्थ मेथ्युले जानकारी दिए।
भारतबाट ५० करोड डलरको डिजेल उधारोमा आउने प्रकृया अगाडि बढेको छ। तर, त्यसले पनि अवस्था सुधार्न नसकिने बताइएको छ।