PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

दिल्ली पुगे देउवा : प्रधानमन्त्रीलाई भारतका राज्यमन्त्रीले गरे स्वागत



पहिलोपोस्ट

दिल्ली पुगे देउवा : प्रधानमन्त्रीलाई भारतका राज्यमन्त्रीले गरे स्वागत
Photo :PM Office

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। ४ मन्त्रीसहितको जम्बो टोली लिएर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थान ओर्लिएका उनलाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए।

देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा सहभागी छन्। उनको यो टोलीमा पत्‍नी डाक्टर आरजु राणा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, विभिन्न मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरु, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी छन्।

उनको भ्रमण टोलीमा निजी क्षेत्रका व्यवसायीहरुसमेत सहभागी छन्।

यस्तो छ देउवाको कार्यतालिका

प्रधानमन्त्री देउवासँग आजै भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेट गर्नेछन्। यो भेट अपराह्न ४:३० बजे होटल मौर्यमा हुनेछ। लगत्तै उनी नयाँ दिल्लीस्थित सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का नेताहरुलाई भेट्ने कार्यक्रम छ। उनी भाजपा मुख्यालयमा पनि पुग्ने छन्।

भाजपा मुख्यालय प्रधानमन्त्री देउवाको स्वागतका लागि सजाइएको छ। पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले देउवाको स्वागत गर्ने भाजपाका विदेश विभाग संयोजक विजय चौथाइवालेले जानकारी दिएका छन्। देउवा भाजपा मुख्यालयमा ५:३० मा पुग्ने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यो भ्रमणका क्रममा विपक्षी राष्ट्रिय कांग्रेसका नेताहरुसँग भेट गर्ने कार्यक्रम नरहेको स्रोतले जनाएको छ।

शुक्रवार नै दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा रात्री भोजको आयोजना गरेको दूतावास स्रोतले जनाएको छ।

उनी शनिवार बिहान महात्मा गान्धीको शालिकमा माल्यार्पण गर्न राजघाट पुग्ने छन्। त्यसपछि ११ बजे १० मिनेटबाट भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीण भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

करिब १ घण्टाको द्विपक्षीय भेटवार्तापछि नेपाल भारतबीच विभिन्न सम्झौतापत्रहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। १२: १५ बजे दुबै प्रधानमन्त्रीको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका अधिकारीहरुले सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। त्यसपछि दुबै देशका प्रधानमन्त्रीहरुले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शनिवार नै अपराह्न प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति एम. वेंकैया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। साढे ४ बजे देउवा उपराष्ट्रपतिलाई भेट्न मौलाना आजाद रोडस्थित उपराष्ट्रपति निवासमा पुग्ने छन्।

प्रधानमन्त्री देउवाले त्यहाँका उद्योगी व्यवसायीहरुका प्रतिनिधिसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवा आइतवार वाराणसी पुग्ने कार्यक्रम रहेको छ। त्यहाँ आयोजना गरिने कार्यक्रममा सहभागी हुने छन्। उनी वाराणसीबाट नयाँ दिल्ली पुग्ने छन्। त्यहाँबाट ४:१५ बजे काठमाडौंका लागि उड्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell