PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

पाटनको बेग्लै घोडेजात्रा : जनताको छोरा राजा बन्दै घोडा चढेर नगर परिक्रमा



पहिलोपोस्ट

पाटनको बेग्लै घोडेजात्रा : जनताको छोरा राजा बन्दै घोडा चढेर नगर परिक्रमा

काठमाडौं : घोडेजात्राका अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो। राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ अधिकारीहरु कार्यक्रममा सहभागी भए, घोडा दौडको अवलोकन गरे। विशिष्ट व्यक्तिहरु सैनिक मञ्चमा कुर्सीमा विराजमान हुँदा सर्वसाधारण भने त्यही कार्यक्रमको एक झलक हेर्न टुँडिखेलका चारै कुनामा तँछाडमछाड गरिरहेका थिए।

त्यही बेला पाटन दरबार क्षेत्रको चहलपहल पनि काठमाडौंको टुँडिखेल भन्दा फरक थिएन। त्यहाँ पनि घोडेजात्रा हेर्न आउनेको भीड थियो। तर, त्यहाँ न त कुनै सरकारी ओहोदाको व्यक्ति थिए, न प्रशिक्षण प्राप्त सैनिकहरु कला प्रदर्शन गर्न आएका थिए।

त्यहाँ थिए त जनताको छोरा राजा बनेर घोडा सवारी गरेको हेर्न आएका जात्रामा रमाइरहेका मानिसहरु। आँखामा गाजल, गालामा रातो अबिर, शिरमा भादगाउँले टोपी र दौरा सुरुवाल र स्टकोटमा सजिएका एक व्यक्ति पाटनका एक दिने राजा बने।

मल्लकालबाट सुरु भएको यो जात्रालाई अहिले पनि वल्खु चिबहा: का महर्जनहरुले जीवन्त बनाइरहेका छन्।

नेपालभाषामा ‘च्यो’ भनेको दरबारमा काम गर्ने सुसारेहरु।

कथन अनुसार एक दिन दरबारमा काम गरिरहेको एक च्यो तबेलामा घोडालाई स्याहारसुसार गर्न छोडेर थकित भएर निदाएछ। राजा भने घोडाको स्याहार नगरी च्यो कहाँ गयो भनेर खोज्नै बाध्य भएछ। निदाइरहेको च्योको टाउकोमाथि पाँचवटा टाउको भएको नाग बसिरहेको राजाले देखे।

राजाले आफू जस्तै बलियो र परिश्रमी च्यो देखेर छक्क परे। राजाले च्योलाई एक दिने राजकाजको जिम्मेवारी दिँदै एक दिनको लागि राजा बनाएर घोडा लिएर नगर परिक्रमा गर्न लगाए।

त्यहाँदेखि च्योलाई राजा बनाएको दिनको सम्झनामा आजसम्म पनि वल्खु टोलको भीमसेन गुठी च्यो खल: का सदस्यहरु मध्ये एक सदस्य घोडा चढेर एक दिनका लागि राजा बनेर नगर परिक्रमा गर्छन्।

भीमसेन गुठी च्यो खलमा वल्खु चिबहा: मा बस्ने महर्जनहरु मात्रै सदस्य छन्। माथि उल्लेखित कथनहरु कै आधारमा पाटनमा जनताको छोरो राजा बनेर घोडेजात्रामा सहभागी हुँदै आएको स्थानीय बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell