PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

भक्तपुरको ताथलीमा जग्गा प्लटिङको पर्खाल लगाउँदा खसेको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु



रासस

भक्तपुरको ताथलीमा जग्गा प्लटिङको पर्खाल लगाउँदा खसेको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

भक्तपुरः चाँगुनारायण नगरपालिका ९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर आज दुई मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका३ घर भई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

उनका अनुसार जग्गामा पर्खाल लगाउने क्रममा अचानक आएको ढिस्कोले पुर्दा दुई जनाको मृत्यु भएको र उनीहरूको राति ७:३० बजेसम्म घट्नास्थलमै शवको पहिचान तथा मुचुल्का उठाउने काम भएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लामो समयदेखि जग्गाको कारोबार गर्दै आएकी चम्पा कुस्मा प्रहरीको उच्च अधिकारीको पत्नी भएकीले प्रहरीले शव छिटो लगेर घटनाको गम्भीर रूपमा अनुसन्धान नगर्न खोजेको भन्दै स्थानीयले विरोध समेत गरेका छन्।

स्थानीय प्रत्यक्षदर्शीले भने भिरालो जग्गालाई सम्याएर पुरेको माटाको ढिस्को माथिबाट खसेर पर्खाल लगाउँदै गरेको मजदुर पुरिएको जानकारी दिएका छन्। स्थानीय राजेन्द्र थापाले दिउँसो पर्खाल लगाउने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएपछि तीन ट्रक प्रहरी आएर शव लैजान खोज्दा स्थानीयले विरोध गरेको जानकारी दिए।

घटना दिउँसोको भए पनि राति करिब ८ बजे शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रनाउ पाण्डेको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell