PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ब्रुस विलियसलाई लागेको भनिएको ‘अफेसिया’ रोग के हो? के यो निको हुनसक्छ?



पहिलोपोस्ट

ब्रुस विलियसलाई लागेको भनिएको ‘अफेसिया’ रोग के हो? के यो निको हुनसक्छ?
ST Yiap Stock/Alamy

‘डाई हार्ड’ अभिनेता ब्रुस विलिसले केही दिन अघि फिल्म क्षेत्रबाट सन्यास लिए। कारण थियो ‘अफेसिया’ नामक रोगबाट ग्रसित हुनु।

छोरी रुमर विलिसले बुधवार इन्स्टाग्राम मार्फत् ‘केही समयदेखि स्वास्थ्य समस्याको सामना गरिरहेका विलिसमा हालसालै अफेसियाको निदान गरिएको’ जानकारी दिएकी थिइन्।

अभिनेता ब्रुस विलिसमा ‘अफेसिया’ देखिएपछि बोल्न, पढ्न र लेख्नमा समस्या निम्त्याउने यो ब्रेन डिसअर्डरले ध्यान खिचेको छ।

निकै कम मात्रै सुन्नमा आएको यो समस्या स्ट्रोक, ट्युमर, टाउकोको चोटपटक वा मस्तिष्कको भाषा नियन्त्रण गर्ने भागको क्षतिका कारण हुन सक्छ। मस्तिष्कको संक्रमण वा अल्जाइमर रोगका कारण पनि यो अवस्था निम्तिन सक्छ।

अमेरिकामा २० लाख मानिसहरू यसबाट प्रभावित भएको र हरेक वर्ष करिब १ लाख ८० हजार जना यसको सिकार हुने गरेको नेसनल अफेसिया एसोसिएसनको अनुमान छ।

उनको परिवारले ६७ वर्षीय अभिनेतालाई ‘अफेसिया’को निदान गरिएको जानकारी दिए पनि के कारणले यो अवस्था आयो भन्नेबारे खुलाएको छैन।

गम्भीरताका आधारमा ‘अफेसिया’ले एक अभिनेताको जीवनमा ठूलो चुनौती खडा गर्न सक्ने जोन्स हप्किन्स विश्वविद्यालयका कग्निटिभ साइन्टिस्ट ब्रेन्डा र्‍यापले बताइन्।

‘बोल्ने शब्दहरू फेला पार्न नसक्दा, शब्दहरूलाई वाक्यमा व्यवस्थित गर्न नसक्दा, आफ्नो मुखबाट आफूले चाहेको आवाज निकाल्न नसक्दा कस्तो महसुस हुन्छ तपाईँ आफैँ अन्दाज लगाउन सक्नुहुन्छ,’ र्‍यापले भनिन्, ‘तपाईँमा त्यतिबेला पनि आफ्नोपन हुने छ ... तर तपाईँलाई आफ्नै आवाज विरानो लाग्नेछ।’

अधिकांश मानिसहरुको हकमा यसको कारण स्ट्रोक हो, जसले मस्तिष्कको निश्चित भागमा रगतको आपूर्ति बन्द गरिदिन सक्छ। अक्सिजन तथा पोषक तत्वहरूको अभावमा मस्तिष्कका कोशिकाहरू मर्छन् र सोही कारण यो समस्या निम्तिन्छ।

‘अफेसिया’ले मानिसको बौद्धिक क्षमतामा भने असर गर्दैन। केही मानिसहरू नाटकीय रुपमा केही महिनामा ठीक हुन्छन्। बाँकीले सञ्चारको लागि अन्य तरिकाहरू अपनाउनु पर्ने हुनसक्छ। ‘स्पिच’ र ‘ल्याङ्ग्वेज’ थेरापीले सञ्चारमा मद्दत गर्नसक्छ।

अनुसन्धानकर्ताले चुम्बकको प्रयोग गरेर मस्तिष्कका कोशिकाहरूलाई उत्तेजित गर्ने जस्ता नयाँ प्रकारको ‘स्पिच थेरापी’ र ‘ननइन्भेसिभ’ विधिहरूको अध्ययन गरिरहेका छन्।

यो अवस्थाले मानिसको जीवनमा महत्त्वपूर्ण प्रभाव पार्नसक्ने अस्ट्रेलियाको कर्टिन स्कुल अफ एलाइड हेल्थकी डा नाओमी कक्स बताउँछिन्।

‘अफेसिया स्ट्रोक, टाउकोको चोट र प्राइमेरी प्रोग्रेसिभ अफेसिया भनिने एक डिजेनेरेटिभ अवस्थालगायत विभिन्न न्युरोलोजिकल अवस्थाहरूसँग सम्बन्धित छ। प्रायः लुकेको अवस्थामा हुने यो डिसअर्डरले मानिसहरूको शब्दमा आफूलाई व्यक्त गर्ने क्षमता वा मौखिक भाषा बुझ्ने क्षमतालाई असर गर्छ,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell