
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डल बिच अहिले नयाँ दिल्लीमा वार्ता भइरहेको छ।
भारत भ्रमणको क्रममा हैदरावाद हाउस पुगेका देउवा र मोदीबिच ‘वान अन वान’ वार्ता पछि दुवै प्रधानमन्त्री प्रतिनिधिमण्डल सहित छलफलमा जुटेका हुन्।
छलफलमा नेपालको तर्फबाट देउवासहित परराष्ट्र मन्त्री नारायण खड्का, ऊर्जा मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा लगायत छन्। यस्तै, भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत छन्।
दुवै पक्षबिच विकास निर्माणमा सहकार्य र नेपाल- भारत सम्बन्धका एजेन्डाहरुका बारेमा छलफल हुने बताइएको छ।
आज दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। यस्तै, जयनगर-जनकपुर रेलवेको पनि उद्घाटन हुनेछ।
हैदरावाद हाउसमा भएको छलफलमा दुई देशका जनताको पाररस्परिक हितका बारेमा कुराकानी भएको थियो। यस्तै, द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउनेबारेमा दुवै प्रधानमन्त्री बिच छलफल भएको थियो।